धोविघाटस्थित एउटा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत ललितपुरको धोबिघाटका दुईमध्ये एउटा फोहोरपानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यस केन्द्रबाट फोहोरपानी प्रशोधनको परीक्षण कार्य आगामी साउन महिनाभित्रमा शुरु गर्ने कार्यक्रम रहेको छ ।
धोविघाटस्थित यो केन्द्र र यहाँ नै निर्माणका क्रममा रहेको अर्को फोहोरपानी प्रशोधन केन्द्रको क्षमता प्रति केन्द्र प्रतिदिन ३ करोड ७० लाख लिटर रहेको छ ।यसैगरी, कोड्कु (बालकुमारी) मा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको क्षमता प्रतिदिन १ करोड ७५ लाख लिटर फोहारपानी प्रशोधन गर्ने रहेको छ ।
भक्तपुरको सल्लाघारीमा पनि प्रतिदिन १ करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन क्षमता भएको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य जारी रहेको छ ।
यसअघि, गुहेश्वरीमा निर्माण सम्पन्न भएको दैनिक ३ करोड २४ लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्र हाल संचालनमा रहेको छ ।
डिजाइन, निर्माण र संचालन को अवधारणा अन्तर्गत निर्माण सम्पन्न भएको र निर्माणाधीन केन्द्रहरूको कूल क्षमता प्रतिदिन १० करोड ५७ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने रहेको छ ।
जसअनुसार, गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ भने सल्लाघारी फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक १ करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन गरी हनुमन्ते नदीमा, कोड्कु (बालकुमारी) केन्द्रबाट १ करोड ७५ लाख लिटर फोहारपानी प्रशोधन गरी मनोहरा नदीमा र धोबिघाट फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक ७ करोड ४० लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह गरिनेछ ।













