२९ लाखमा नै ‘बीवाईडी एटो वान’, उत्कृष्ट रेञ्ज
काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक ह्याचब्याक कार ‘एटो-वान’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले उक्त कारलाई दुई भेरियन्टमा बजारमा ल्याएको हो। ‘एटो-वान’ विभिन्न देशहरूमा भिन्न नामले चिनिने गाडी हो। चीनमा ‘सिगल’ र युरोपमा ‘सर्फ’ नामले परिचित यो मोडल नेपालमा ‘एटो-वान’ नामबाट उपलब्ध भएको छ। कम्पनीले यस मोडलको बिक्री काठमाडौंमा आयोजित ‘नेपाल मोबिलिटी एक्स्पो’ मार्फत सुरु गरेको जानकारी दिएको छ। नेपालमा उपलब्ध ‘एटो-वान’ दुई भेरियन्टमा आएको छ—स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम। डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। डाइनामिक भेरियन्टमा ३०.०८ किलोवाटअवर क्षमता भएको ब्याट्री दिइएको छ भने प्रिमियम भेरियन्टमा ३८.८८ किलोवाटअवरको ब्याट्री प्याक राखिएको छ। यी दुई भेरियन्टले एनईडीसी प्रमाणीकरणअनुसार क्रमशः २३० र ३०० किलोमिटरको रेन्ज प्रदान गर्नेछन्। गाडीमा एसी र डिसी दुवै प्रकारका चार्जर सपोर्ट हुने सुविधा छ। इन्ट्री लेभल ह्याचब्याक साइजको यो कार नेपाली बजारमा लामो समयदेखि प्रतीक्षा गरिएको मोडल मानिएको छ। एटो-वानको लम्बाइ ३७८० मिलिमिटर, चौडाइ १७१५ मिलिमिटर, उचाइ १५८० मिलिमिटर र ह्वीलबेस २५०० मिलिमिटर रहेको छ। कम्पनीका अनुसार यो मोडल सहरिया यातायातको लागि उपयुक्त र वातावरणमैत्री विकल्पका रूपमा विकसित गरिएको हो।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed