बीमा प्राधिकरण गण्डकी प्रदेशले हाजिरीजवाफ र निबन्ध प्रतियोगिता गर्ने, विजेतालाई आकर्षक पुरस्कार

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बीमा सम्बन्धी प्रदेशस्तरीय हाजिरीजवाफ र निबन्ध प्रतियोगिता गर्ने भएको छ भने विजेता समूहलाई आकर्षक पुरस्कार दिने भएको छ।
बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने र विद्यार्थी तथा सर्वसाधारणमा बीमाको महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ। हाजिरीजवाफका लागि विद्यालयको पत्र मार्फत मनोनयन गरिएका ३ जना विद्यार्थीको नाम, समूहको नेतृत्वकर्ताको नाम र विद्यालयको विद्यार्थी परिचय खुल्ने कागजात सहित नेपाल बीमा प्राधिकरणको इमेलमा पठाउनु पर्नेछ।
यसमा गण्डकी प्रदेश भित्रका प्लसटू मा अध्ययनरत विद्यार्थी र एउटा विद्यालयको एउटा मात्र समूह हुनु पर्नेछ। प्रतियोगिताको नियम प्रचलित मान्यता बमोजिम हुने प्राधिकरणले जनाएको छ। सहभागिताका लागि चैत १९ गतेभित्र इमेल ठेगाना मार्फत आवेदन दिइसक्नु पर्नेछ।
हाजिरीजवाफमा नेपाल बीमा प्राधिकरणको सामान्य जानकारी बापत १० प्रतिशत, बीमा व्यवसाय सम्बन्धी जानकारी (जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र लघुबीमा) बापत ५० प्रतिशत, बीमा सम्बन्धी कानूनी व्यवस्था सम्बन्धी सामान्य जानकारी बापत १० प्रतिशत, बीमा र अर्थतन्त्र बापत २० प्रतिशत र बीमाका अन्तर्राष्ट्रिय अभ्यास बापत १० प्रतिशत अङ्कभारको प्रश्न सोधिनेछ।
प्रतियोगितामा प्रथम हुने समूहलाई प्रमाणपत्र र कर सहित २० हजार नगद, द्वितीय हुनेलाई प्रमाणपत्र र कर सहित १५ हजार नगद र तृतीय हुनेलाई प्रमाणपत्र र कर सहित १० हजार रुपैयाँ नगद पुरस्कार दिइने प्राधिकरणले जनाएको छ।
त्यसैगरी “डिजिटल युगमा बीमाः अवसर, चुनौती र सम्भावना” शीर्षकमा निबन्ध प्रतियोगिता गर्ने भएको छ। यसका लागि गण्डकी प्रदेशभित्रको विद्यालयमा स्नातक तह अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन्। निबन्ध नेपाली वा अंग्रेजीमध्ये कुनै एक भाषाबाट र कम्तीमा १५०० शब्दको हुनु पर्नेछ।
निबन्ध चैत १९ गतेभित्र इमेल ठेगाना मार्फत दिइसक्नु पर्नेछ भने पेश हुन आएका निबन्धको मूल्यांकन गरी प्रथम हुनेलाई कर सहित १५ हजार नगद, द्वितीय हुनेलाई कर सहित १० हजार नगद र तृतीय हुनेलाई कर सहित ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र दिइनेछ।













