रास्वपा समर्थकले झण्डा जलाएपछि एमालेद्वारा निन्दा

काठमाडौं । बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका समर्थकहरूले एमालेको सूर्य अंकित झण्डा जलाइदिएपछि एमालेले त्यसको निन्दा गर्दे चेतावनी दिएको छ।
रवि लामिछाने सुर्खेतबाट दाङको तुलसीपुर हुँदै घोराही पुगेका थिए। लामिछानेको स्वागतका लागि जम्मा भएका समर्थकहरूले एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै एउटा झण्डा जलाइदिएका थिए। तुलसीपुर एमालेका महासचिव शंकर पोखरेलको गृहनगर हो।
घटनापछि एमालेको युवा संगठन नेशनल भोलेन्टियर्स फोर्स र विद्यार्थी संगठन अनेरास्ववियुले पार्टीको झण्डा जलाउनेलाई तत्काल कारवाहीको माग गर्दै प्रतिकारमा उत्रने चेतावनी दिएका छन्। यद्यपि रास्वपा दाङका सभापति विनय घिमिरेले बिहीबार राति नै एक विज्ञप्ति जारी गरी ‘समर्थकहरूको उत्साहजनक उपस्थितिले अत्ताल्लिएकाहरूले घुसपैठ गरी भ्रमपूर्ण वातावरण सिर्जना गरेको’ बताएका थिए।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गरी एमालेको झण्डा जलाएकोमा रास्वपाको निन्दा गरेका छन्। उनले यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै कारवाहीको माग समेत गरेका छन्। प्रतिनिधि सभा सदस्यको चुनाव नजिकिंदै गर्दा रास्पवा र एमालेबीच कटुता बढ्नुले सुरक्षा चुनौती थपिएको कतिपयले विश्लेषण गरेका छन्।












