मोटरसाइकल चोरेर पाटपुर्जा बेचेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरेर पाटपुर्जा निकाली बेचेको तथा अन्य मोटरसाइकलमा जडान गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–६ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा बस्ने ३१ वर्षीय लक्ष्मण विश्वकर्मा, अर्घाखाँचीको शीतगंगा गाउँपालिका–२ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६ हात्तिगौंडा बस्ने २८ वर्षीय नर बहादुर चित्रे र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७ हात्तिगौंडा बस्ने ३८ वर्षीय करण खड्गी रहेका छन्।
उनीहरूले फागुन ६ गते अन्दाजी रातको ८ बजे हात्तिगौंडास्थित संकटा मन्दिरस्थित पार्किङ गरी राखेको बा.प्र. ०२–०१६ प ६१४३ नम्बरको मोटरसाइकल चोरी गरी पाटपुर्जा समेत निकाली बेचेको तथा अन्य मोटरसाइकलमा जोडेको सूचनाको आधारमा प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट दुई थान टायर, ईन्जिनको भाग, भाईजर, चेसिस नम्बर काटेको टुक्राहरू, साइलेन्सर, ट्याङ्की, सकको भाग, मोटरसाइकलको पाटपुर्जा निकाल्न प्रयोग हुने विभिन्न औजारहरूका साथै चोरी भएको मोटरसाइकलको पाटपुर्जा निकालेर जडान गरिएका ३ वटा मोटरसाइकलहरू समेत बरामद गरेको छ।












