नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी तथा निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको फार्मा एक्स्पो २०८१ मा सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि स्थिर सरकारको आवश्यकता औँल्याउँदै आएको स्मरण गराए। उनका अनुसार करिव दुई तिहाई बहुमत नजिकको सरकार बन्ने क्रममा अब स्थिर सरकारले स्थायी नीति ल्याएर आर्थिक गतिविधि वृद्धि गर्न सक्छ।
ढकालले भने, ‘राजनीतिक परिवर्तनको हिसाबले नयाँ सरकार आउँदैछ। निजी क्षेत्रले सधैँ स्थिर सरकारको माग गर्दै आएको थियो। अहिले करिव दुई तिहाईको सरकार आएको छ। निजी क्षेत्रका मुद्दा रास्वपाको वाचापत्रमा पनि उल्लेख गरिएको छ। अब ती प्रतिबद्धताहरू इमानदारीपूर्वक लागू हुनुपर्छ। लागू भयो भने छोटो समयमा धेरै काम गर्न सकिन्छ। आगामी दिनमा नीतिहरू बनाउँदा स्थायी नीति र आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने खालका नीति ल्याउनुपर्छ।’
अध्यक्ष ढकालले कतिपय भूतप्रभावी कानूनका कारण लगानीकर्तामा निराशा आइरहेको बताए र त्यस्ता कानून लागू नहुने सुनिश्चितता राज्यले दिनुपर्नेमा जोड दिए। उनका अनुसार यदि यस्तो सुनिश्चितता मिल्यो भने मुलुकमा छिट्टै आर्थिक गतिविधि बढ्नेछ, आन्तरिक रोजगारी सिर्जना हुनेछ, र राजश्व संकलन बढेर पूर्वाधार निर्माणमा समेत सहयोग पुग्नेछ।












