२९ सय मिटर बनेको सडकलाई ३७ सय मिटर देखाएर २१ लाख बढी भ्रष्टाचार
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ मा निर्माण भएको पिपलकाँडा–मेलगौरी सडक योजनामा २१ लाख रूपैयाँभन्दा बढी भ्रष्टाचार भएको खुलेको छ। यस घोटाला गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँफिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित ४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सडक निर्माणका लागि आर्थिक वर्ष ०७९/८० मा संघीय सरकारबाट करीब २ करोड रूपैयाँ लागत अनुमान (भ्याट सहित) बजेट प्राप्त भएको थियो। उक्त बजेट प्राप्त भएपछि बाँफिकोट गाउँपालिका र ‘मालिका बस्नेत निर्माण सेवा’ बीच झण्डै साढे ७७ लाख रूपैयाँमा सम्झौता भई सडक निर्माण कार्य थालिएको थियो। तर अनुगमन गर्दा फिल्डमा २९ सय मिटर मात्रै सडक बनेको पाइएको छ जबकी नापी किताबमा ३७ सय मिटर बनेको भन्दै ठेकेदार कम्पनीलाई ८ सय मिटर बापतको रकम बढी भुक्तानी भएको थियो। अख्तियारको अनुसन्धानमा ठेकेदारसँग सेटिङ गरेर बढी रकम दिन अनुगमन अधिकृतको हस्ताक्षर नै नभएको अनुगमन प्रतिवेदनलाई आधार मानेर नबनेको ८ सय मिटर सडक बापतको २१ लाख ६३ हजार रूपैयाँ दिएको खुलेको छ। यसमा संलग्न भएको आरोपमा अख्तियारले प्रमुख प्रसाशकीय अधिकृत ओलीसहित प्राविधिक दल बहादुर ओली, लेखापाल महेन्द्र शर्मा र ठेकेदार कम्पनी र सोका प्रोपाइटर शान्त बहादुर बस्नेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed