बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी शेयर ३७३ जनासँग छः गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकका विभिन्न बैंक तथा वित्तीय संस्थामा ३७३ व्यक्तिको प्रमोटर शेयर रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बिहीबार (असार १९ गते) बसेको बैठकमा बोल्दै गभर्नर पौडेलले वाणिज्य बैंकमा ७२ जनाको एक प्रतिशतभन्दा बढी, विकास बैंकमा १३० जनाको तथा फाइनान्स कम्पनीहरूमा १७१ जनाको प्रमोटर शेयर रहेको तथ्य प्रस्तुत गरे । संस्थापक सेयर हस्तान्तरणसम्बन्धी व्यवस्थाबारे पनि उनले लचिलो धारणा प्रस्तुत गरेका छन् । उनले संस्थापक सेयरको दुई प्रतिशतभन्दा बढी स्वामित्व हस्तान्तरणमा राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुनुपर्ने व्यवस्था कानुनमै राख्ने वा नराख्ने विषयमा छलफल हुन सक्ने बताएका छन् । ‘अर्थतन्त्र गतिशील भइरहेको बेला कति प्रतिशत भन्ने कुरा ऐनमै बाँध्नुभन्दा राष्ट्र बैंकलाई नै छाडिदिनु ठिक हुन्छ कि भन्नेमा छलफल हुनसक्छ’ गभर्नर पौडेलले भने । उनले वित्तीय प्रणालीमा पारदर्शिता र अनुशासन कायम गर्नका लागि सम्बन्धित व्यक्ति वा संस्थासँग हुने कारोबारलाई निगरानीमा राख्नुपर्नेमा जोड दिए । साथै, उनले बैंक तथा वित्तीय संस्थामा रहेका ७० खर्ब रुपैयाँलाई कुनै व्यक्तिको मात्र निजी सम्पत्ति नभई समग्र मुलुकको अर्थतन्त्रको स्रोतको रूपमा बुझिनुपर्ने बताए । उनको भनाइ अनुसार वित्तीय क्षेत्रको पारदर्शिता, उत्तरदायित्व र सुशासनको प्रत्याभूति गर्दै निजी स्वार्थको संलग्नता न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed