नेप्से पुनःसंरचना गर्न मन्त्रिपरिषदको निर्णय, बनायो उच्चस्तरीय समिति
काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको हो। सरकारले लामो समयदेखि उठ्दै आएको ‘नेप्से सुधार’ सम्बन्धी आवश्यकता, बजार विस्तार, प्राविधिक सुदृढीकरण तथा नियमन-व्यवस्थापनको संरचनामा पुनःसंरचना आवश्यक ठहर गर्दै यसपटक औपचारिक रूपमा अध्ययन प्रक्रिया अघि बढाएको हो। समिति गठनसँगै नेप्सेको संस्थागत स्वरूप, दक्षता, सरकारी स्वामित्व मोडेल, सेयर बजारको समग्र शासन प्रणाली तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार संरचना पुनःनिर्माणको सम्भावनाबारे प्रतिवेदन तयार पारिनेछ। यससँगै, मन्त्रिपरिषद् बैठकले ‘जेनजी आन्दोलन’ का क्रममा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेशलाई जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ। यस्तै, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट करिब २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान स्वीकृति दिने निर्णय गरिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed