वित्तीय विवरणमा देखिएन नेपाल लाइफको उत्साह, खुद बीमा शुल्क आर्जन ३५% ले बृद्धि, मुनाफा ८% मा सीमित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा झल्किएको छ । यद्यपि कम्पनीको वित्तीय विवरणमा खासै उत्साह भने देखिएको छैन । खुद बीमा शुल्क आम्दानी बृद्धि प्रतिशत अन्य कम्पनीहरुको तुलनामा सामान्य देखिएको छ भने मुनाफा बृद्धि प्रतिशत एक डिजिटमा सीमित छ ।
नेपाल लाइफ इन्स्योरेन्सस कम्पनीको जीवन बीमा कोषमा मात्रै एक खर्ब सात अर्ब ६१ करोड ७७ लाख २४ हजार ११३ रुपैयाँ जम्मा गर्न सफल भएको छ । त्यस्तै, जगेडा कोष ५८ प्रतिशतले घटेको छ भने महाविपत्ती कोष २५.९१ प्रतिशतले बृद्धि भइ समग्र कोषको आकार एक खर्ब नौ अर्ब ३४ करोड एक लाख १५ हजार १७० रुपैयाँ पुगेको छ । नेपाली बीमा क्षेत्रमा सबैभन्दा ठूलो कोष नेपाल लाइफले जम्मा गर्न सफल भएको हो । जीवन बीमा कम्पनीहरुको बलियोपना मापन गर्ने आधार जीवन बीमा कोषलाई लिइन्छ ।
कम्पनीको खुद बीमा शुल्क आम्दानी ३५.४९ प्रतिशतले बृद्धि भइ २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार ६५० पुगेको छ । अघिल्लो आवको सोही अवधीमा कम्पनीले जम्मा १८ अर्ब ४१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चालु आवमा कम्पनीको खुद दावी भुक्तानी ४०.५२ प्रतिशतले बृद्धि भइ सात अर्ब २९ करोड ७४ लाख ७४ हजार १६० रुपैयाँ गरेको छ । अघिल्लो आवमा कम्पनीले पाँच अर्ब १९ करोड रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

कम्पनीको व्यवस्थापन खर्च १० प्रतिशतले बृद्धि भएको छ । गत आवमा ८५ करोड ६७ लाख ९८ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आवको समीक्षा अवधीमा ९५ करोड आठ लाख ४१ हजार ७०३ रुपैयाँ खर्च गरेको छ ।
कम्पनीले अभिकर्तालाई दिने कमिशन ३०.५६ प्रतिशतले बृद्धि भएको छ । गत आवमा जम्मा दुई अर्ब १८ करोड १० लाख ४७ हजार ७७२ रुपैयाँ अभिकर्ता कमिशन वितरण गरेको कम्पनीले चालु आवमा दुई अर्ब ८४ करोड ७६ लाख १६ हजार ४४८ रुपैयाँ कमिशन बापत वितरण गरेको छ ।
कम्पनीको खुद मुनाफा ८.३६ प्रतिशतले बृद्धि भएको देखिएको छ । गत आवमा ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवमा ५०० करोड ६६ लाख ६८ हजार ४६ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा लेखा परिक्षण अघि गरिने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ ।
कम्पनीमा हालसम्म कायम रहेको बीमा पोलिसी संख्या १३ लाख ७० हजार १३६ रहेको छ । अघिल्लो आवको तुलनामा बीमा पोलिसी संख्या ७.०२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ९.३८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२३.९२ रुपैयाँ, पिई अनुपात २२५.०९ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६८१ रुपैयाँ रहेकोछ ।













