नेपाल लाइफद्वारा एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि, अभिकर्ता आक्रोसित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको समयमा जीवन बीमा अभिकर्तालाई आहत हुने गरी एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि गरेको छ । कम्पनीले व्यक्तिगत कोडमा तोकिएको टार्गेट उच्च अंकले बृद्धि गर्दा महामारीमा घरभित्रै थुनिएका अभिकर्ताहरु आहत र आक्रोसित बन्न पुगेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्से यही जेठ १ गतेदेखि लागू गरी नयाँ टार्गेट सार्वजनिक गरेको छ । जस अनुसार इन्ट्रीलेभलका एजेन्सी म्यानेजरको सेल्फ कोडमा एक लाख ५० हजार रुपैयाँ टार्गेटलाई बृद्धि गरी पाँच लाख पुर्याइएको छ । त्यस्तै सिल्भर तहमा अभिकर्ताहरुलाई एजेन्सी म्यानेजर हुन सेल्फ कोडमा दुई लाख रुपैयाँको व्यापार आवश्यक पर्नेमा अहिले सात लाख पुर्याइएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एजेन्सी म्यानेजरहरुको टार्गेट बृद्धि गरेपछि अभिकर्ताहरु आक्रोसित र आहत बनेका छन् । बीमा समितिले बीमा अभिकर्ताहरुको मनोबल नै खस्कने गरी अभिकर्ताले लिएको ऋण असार मसान्तभित्रैमा असुल गर्न निर्देशन दिएपछि खातामा रकम जान बन्द गरेको समयमा देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनीले अभिकर्तालाई अर्को प्रहार गरेको गुनासो बीमा अभिकर्ताहरुले गरेका छन् । सामाजिक सञ्जालमा नेपाल लाइफ इन्स्योरेन्सका विरुद्धमा उक्त टार्गेट बृद्धिको चर्को प्रहार भइरहेको छ । टार्गेट बृद्धिसँगै आर्थिक वर्षको अन्त्य नजिकै आइपुग्दा कोरोना महामारीले घरभित्रै थुनिएका हजारौं एजेन्सी म्यानेजरहरुको पद नविकरण नहुने देखिएको छ । नयाँ व्यवस्थासँगै टार्गेट बृद्धि गरिएकोले कैयौं एजेन्सी म्यानेजरको पद गुम्ने भएपछि आक्रोसित भएका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्सको उच्च व्यवस्थापनले भने बीमा समितिले तोकेको १८ प्रतिशतको सीमाभित्र रहन टार्गेट बृद्धि गरिएको जनाएको छ । कम्पनीका अनुसार पुरानो व्यवस्थामा १८ प्रतिशतको सीमा आर्थिक वर्षको अन्त्यमा हिसाब किताब गर्दा मात्रै थाहा पाउने अवस्था भएकोले नयाँ व्यवस्थापछि गणना सहज हुनेछ । कम्पनीका उच्च अधिकारीले महामारीको समयमा एजेन्सी म्यानेजरको टार्गेट बृद्धि गर्नु कम्पनीको रहर नभई बाध्यता भएको र यसलाई एजेन्सी म्यानेजरहरुले स्वाभाविक रुपमा लिने विश्वास लिएको जनाएका छन् ।













