शेयरबजारमा हरियाली : नेप्से ६९ अंकले बढ्दा ९ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से खुलेको केही समयमा नै हरियाली छाएको थियो । शेयर बजार खुलेको करिब १ घण्टामै अस्वभाविक रुपमा ६९ अंकले बढ्न पुगेको थियो ।
नेप्से परिसूचक आज ६९ अंकले बढेर बन्द हुन पुगेको छ । २.४१ प्रतिशतले बृद्धि भएर नेप्से २९२६.७४ विन्दुमा कायम भएको छ ।
नेप्से ६९ अंकले बृद्धि भएर २९ सयको विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।
देशको अर्थतन्त्र संकटको अवस्थामा रहेको बेला बजार खुलेको करिब एक घण्टामै नेप्सेमा यस्तो उछाल देखिनुले शेयरबजारमा माफियाहरुले आफूसँग भएको ठूलो मात्रामा शेयर बिक्री गर्न कर्नरिङ गरेर मूल्य बढाएको हुन सक्ने देखिएको हो ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूहमा ४०९ अंक र जीवन बीमा समूहमा २८९.५१ अंकले बृद्धि हुन पुगेको छ ।
भदौ महिनायता कारोबार रकम ५ अर्बभन्दा तल सीमित हुँदा आज ९ अर्बमाथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको आज एकैदिन ३२ करोड ४६ लाख ५९ हजार ३१ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज मध्यभोटेकोशीको सर्किट लेभलमा कारोबार भएको छ ।













