वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घट्यो, कर्जा लगानी बढ्यो
३ फाल्गुन २०७८, मंगलवार १९:४७

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स संघ का अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो भने कर्जा लगानी बढेको तथ्याङ्कले देखाएको छ।
तथ्यांकअनुसार पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।
त्यस्तै, कर्जा लगानी भने गत पुसको तुलनामा माघ महिनामा १२ अर्ब रुपैयाँले बढेको छ। गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म बढेर ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ।













