युक्रेन युद्धको कारण देखाई खाद्य तेलको मूल्य बृद्धि गर्नेलाई कारबाही गर्न उपभोक्ता मञ्चको आग्रह

१८ फाल्गुन २०७८, बुधबार १७:५६

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले खाद्य तेल उद्योगी तथा व्यवसायी माथि आवश्यक कारबाही गर्न माग गरेको छ । मञ्चले प्रधानमन्त्री तथा मन्त्री परिषदलाई एक पत्र जारी गर्दै खाद्य तेलको मूल्य अत्याधिक बढाई आम उपभोक्तालाई महंगीको भार थापरेको भन्दै कारबाही गर्न माग गरेको हो ।

गत बर्ष अन्तराष्ट्रि बजारमा खाद्य तेलको कच्चा पदार्थको मूल्य बढेको कारण देखाउदै खाद्य तेलको मूल्य अत्याधिक बढाई केही उद्योगी व्यापारीहरुले सर्वसाधारणलाई महंगीको भार थोपर्ने र अहिले भर्खर युक्रेनमा भएको रुसी हमलाको कारण देखाइ तेलको खुद्रा मूल्य प्रति लिटर ६० रुपैयाँ सम्म बढाउने काम गरी सरकारलाई चुनौती दिने काम गरेकोमा उपभोक्ता मञ्चले आपत्ती जनाएको हो ।

मञ्चले जारी गरेको पत्रमा भनिएको छ, ‘भर्खर मात्र भएको युक्रेन युद्धलाई कारण देखाइ महिनौं अगाडी देखि स्टकमा रहेको तेलको बजार मूल्य बढाउनु नियम कानून बिपरित मात्र होइन व्यवसायिक नैतिकता भन्दा पनि परको बिषय हो र पूर्णतः कार्टेलिंग गर्दै कालोबजारी गरेको प्रष्ट हुन्छ ।’

साथै देशको प्रशासनिक कमजोरी र नियमन गर्ने निकायको उदाशिनताको कारण केही उद्योगीहरुले बजारमा दादागिरी नै देखाइ रहेको कारण खाद्य तेल मात्र होइन चिनी, चामल लगायतका दैनिक उपभोग्य वस्तुको बजार आपूर्ति व्यवस्था प्रणालीलाइ खलबलाउने र बजार कव्जा जमाउने काम केही कुत्सित नियत राख्ने उद्योगी व्यापारीले गर्दै आएको व्यहोरा मञ्चको आरोप छ ।

गत असोज महिना सम्म खाद्य तेलको मूल्य अचाक्ली बढेर भुटेको तोरीको तेल प्रति लिटर ३४०, कांचो तोरीको २६०, भटमासको तेल २४०, सनफलावर तेल २५० पुगेकोमा एक हप्ता अगाडीसम्म क्रमशः २७०, २००, १७० र १८० रुपैयांमा सहज रुपमा बजारमा पाउने गरेकोमा युक्रेन युद्ध शूरु हुनासाथ प्रति लिटरमा करिव ६० रुपैयांसम्म मूल्य बढाउने काम व्यवसायीहरुले गरेकोछ भने उद्योगीहरुले पुरानै स्टकको तेलको मूल्य एम.आर.पी भन्दा पनि बढि लिइ बिक्रि बितरण गर्न बिक्रेताहरुलाइ बाध्य पारेको समेत बुझिन आएको व्यहोरा हाम्रो बजार अनुगमनको रेकर्डबाट देखिएको छ ।

उद्योगीहरुले एक पटक कच्चा पदार्थ मगाउंदा कम्तिमा एक महिनाको लागी पुग्ने गरी आयात गर्ने गरेको र बजारमा त्यतिकै मात्रामा स्टकमा रहने गरेको अवस्था हुंदाहुंदै पनि युद्ध शुरु गरेको मितिबाट नै तेलको मूल्य बढाउनु भनेको व्यवसायिक अराजकता बाहेक अरु केही हुनै नसक्ने भन्दै मञ्चले यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।

खाद्य तेलहरु स्टकमा रहँदा पनि अभाव अवस्थाको सिर्जना गराएकोमा यस्तो काम सरकारको नियमन निकायहरुको कमजोर व्यवस्थापनको कारणले मात्र हुन सक्ने भन्दै प्रधानमन्त्रीसमक्ष गम्भीर ध्यानाकर्षण गराउन उक्त पत्र जारी गरेको मञ्चले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*