जोन्टा क्लब अफ काठमाडौंद्वारा ‘येलो रोज डे २०२२’ मा प्रेरणादायक महिलाहरु सम्मानित

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले फागुन २२ गते ‘प्रेरणादायक र साहसी महिला’हरुलाई सम्मान गर्दै आफ्नो वार्षिक कार्यक्रम ‘येलो रोज डे’ मनाएको छ । उक्त कार्यक्रम नबिल बैंक, निम्बसको प्रिमियम फुड ब्राण्ड ब्यञ्जन, स्टार हस्पिटल लिमिटेड, एमजि मोटर्सको सहयोगमा हस्पिटालिटी पार्टनर हायात प्यालेसमा आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विभिन्न विधामा उदाहरणीय काम गरेका चौध जना अनुकरणीय महिलाहरुलाई सम्मानित गरिएको थियो । कार्यकममा पुरस्कृत महिलाहरुले आफ्नो संघर्ष र सफलताको कथाहरु सुनाएका थिए । यसरी महिला सशक्तिकरणका वास्तविक पात्रहरुलाई सम्मान गर्दा सम्पूर्ण समाजमा नै सकरात्मक प्रभाव पर्ने र अन्य महिलाहरुलाई पनि आ–आफ्नो क्षत्रमा उत्कृष्ट काम गर्ने प्रेरणा मिल्ने आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।
उक्त कार्यक्रममा प्रिन्सेस हेलेन शाह इन्स्पीरेशनल वुमन अफ द इयरको टाइटल प्रस्तुती भट्टराई र वर्षा तामाङले पाएका थिए भने अमर राना गेम चेम्जर अवार्ड क्याप्टेन प्रिया अधिकारीले पाएकी थिइन् ।
त्यस्तै, कोभिड हिरोहरुका लागि रत्न देवी अवार्ड सुस्वप्न रिमाल, ज्योति स्कलरशिप अवार्ड अन्तर्गत वुमन इन बिजनेश स्करसिप वर्षा कटुवाललाई र वुमन इन टेक स्कलरशिप सुक्रिती मास्केलाई प्रदान गरिएको थियो । साथै इन्द्रकला स्कलरसिप अवार्ड अन्तर्गत योङ वुमन इन पब्लिक अफेयर्स मन्दिरा श्रेष्ठलाई र वुमन इन स्पेस मनिषा दावालाई प्रदान गरिएको थियो ।
सो कार्यक्रममा जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन्, “समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको छ । एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन । एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ । महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ ।”
त्यस्तै ‘अनसंग हिरोज’ विधा अन्तर्गत समाजको दृष्टिकोण परिवर्तन गर्न उल्लेखनीय योगदान पुर्याएका अन्य ४ जना महिलाहरुलाई पनि उनीहरुको असाधारण कार्यको प्रशंसा गर्दै जोन्टा क्लब अफ काठमाडौंले नबिल बैंकको सहयोगमा प्रतिव्यक्ति ३५ सय रुपैयाँ प्रदान गरेको छ ।
जसमा साझा यातायातको टिकट कलेक्टर रेजिना बस्नेत, २० वर्षमा छोरीहरुको विवाह गरिने रोरङ गाउँपालिकाबाट पहिलो महिला नर्स बन्न सफल सरिता चेपाङ, विगत १० वर्षदेखि ट्याक्सि चलाउँदै आएकी महिला ट्याक्सि ड्राइभर इशवरी थापा र पुरुषहरुले मात्रै गर्दै आएको झ्याल–ढोका बनाउने काममा अब्बल महिला सिकर्मी मनु थामी रहेका छन् ।
परम्परागत रुपमा पुरुष प्रधान मानिएका क्षेत्रहरुमा यी महिलाहरुले आफ्नो अब्बल उपस्थिति जनाएका छन् । कठिनाई र चुनौतीको वावजुद पनि आ–आफ्नो विधामा उत्कृष्ट काम गर्न सफल यस्ता महिलाहरुलाई सम्मान गर्न पाउनु आफैँमा एउटा गौरवको विषय भएको आयोजक जोन्टा क्लब अफ काठमाडौँले जनाएको छ ।













