एनआईसी एशिया बैंकको साधारण सभा चैत २० गते, शेयरधनीको हात रित्तो

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा चैत २० गते डाकेको छ । कम्पनीले सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो ।
बैंकका शेयरधनीले यस वर्ष लाभांश नपाउने भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र शून्य दममलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर नदेखिएको उल्लेख गर्दै लाभांश घोषण तथा वितरण सम्बन्धी प्रस्ताव स्वीकृत नगरेपछि कम्पनीले लाभांश रद्द गरेको थियो ।
उक्त सभामा प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने, संशोधनका लागि संचालक समितिलाई अख्तियारी दिने र स्वतन्त्र संचालनको नियुक्तिलाई अनुमोदन गर्ने बिशेष प्रस्ताव अगाडि लैजाने छ । त्यस्तै, संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना संचालक र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना गरी ६ जना संचालकको निर्वाचन गर्ने सो सभाको एजेण्डा रहेको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि चैत ८ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।













