२०७९ सालमा शनिबारबाहेक ४३ दिन थप सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमडाौं । नेपाल सरकारले थप सार्वजनिक बिदा दिने प्रस्ताव पारित गरेको छ। गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
बिहीबार मन्त्रालयले राजपत्र उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो।वर्ष २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ।
बिदा हुने दिनहरूमा २० दिन विभिन्न पर्व बिदा, दुई दिन महिला कर्मचारीका लागि मात्र बिदा, एक दिन शिक्षण संस्थाका लागि विदा, चार दिन काठमाडौं उपत्यकाका लागि मात्र विभिन्न जात्रा बिदा, ६ दिन दशैं विदा, पाँच दिन तिहार विदा, पाँच दिन सबैका लागि दिवस विदा तथा एक दिन अपांगता भएका व्यक्तिका लागि मात्र विदा गरेर ६ दिन दिवस बिदा दिइएको छ।
यस्तै ३ दिन जन्मजयन्ती बिदा दिइएको छ। जसमा बुद्ध जयन्तीका दिन सबैका लागि विदा भए पनि अरू २ वटा जयन्ती भने सम्बन्धित धर्मावलम्बीका लागि मात्र बिदा दिइएको छ ।
सरकारले विश्व मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवसमा विदा दिने भएको छ ।
त्यसैगरी, बुद्ध जयन्तीमा देशभर सबैलाई लागूहुने गरी विदा दिने र फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्तीमा सम्बन्धित धर्मालम्बीहरुलाई मात्रै विदा दिइने भएको छ ।गौरापर्व, महाशिवरात्री र अन्तर्राष्ट्रिय अपांगता दिवस भने शनिबार परेका छन्।गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ।
मन्त्रालयले आगामी वर्षमा वैशाखदेखि कार्तिक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ।
शुक्रबारको भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ।तर प्रदेश सरकारले आफ्नो प्रदेशभरी लागू हुनेगरी ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुनेछ ।














