आज राती १२ बजेदेखि लागू हुनेगरी आयल निगमले फेरि बढायो इन्धनको मूल्य, पेट्रोलको भाउ प्रतिलिटर १५५ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो ।
निगमले आज प्रकाशित गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल–डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य १५५ रुपैयाँ र मट्टितेल १३८ रुपैयाँ तथा हवाई इन्धन आन्तरिकतर्फ साविक बिक्री मूल्यमा प्रति लिटर १५ रुपैयाँले बृद्धि भई १५१ रुपैयाँ पुगेको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले नेपालमा पनि बढाएको जनाएको छ ।
भारतीय आयल निगमले बुधबार पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको थियो । सोही अनुसार निगमले नेपालमा पनि मूल्य बढेको बताएको छ ।














