एनआईसी एसिया बैंकको २४औं साधारणसभाबाट ३०० अर्बको वित्तिय विवरण पारित, छ सञ्चालक निर्विरोध, अग्रवाल बने अध्यक्ष

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारणसभाले ३०० अर्र्बको वित्तिय विवरण पारित गरेको छ भने आधा दर्जन सञ्चालकहरुलाई आगामी चार वर्षको लागि निर्विरोध निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौंको भद्रकालीमा सम्पन्न एनआईसी एसिया बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । कम्पनीको कारोबार ३०० अर्बभन्दा माथि रहेको छ । कम्पनीले पुँजि र लगानी अनुपात रेसिया नमिल्दा नियामकीय नियमनका कारण लाभांश वितरण गर्न सकेन । बैंकले लाभांश वितरण गर्न नसके पनि उक्त लाभांश कोषमा रहने हुँदा बैंकको लगानी क्षमता थप बृद्धि हुन पुगेको छ । साथै आगामी वर्ष लाभांश वितरण गर्दा यस वर्ष संचित भएको मुनाफा समेत थप भई आउने हुँदा कम्पनी थप बलियो बन्न पुगेको छ ।
आइतबार सम्पन्न भएको बार्षिक साधारणसभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले मिति २०७८-०७-१० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा बिजया स्वारलाई नियुक्त गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई अनुमोदन समेत गरेको छ ।
बैंकको वार्षिक साधारण सभामा सञ्चालक समितिको सदस्य निर्वाचन गर्ने कार्यक्रम समेत रहेकोमा संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने र सर्वसाधरण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३÷३ जना गरी ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार संस्थापक शेयरधनीहरूको तर्फबाट तुलसीराम अग्रवाल, त्रिलोक चन्द अग्रवाल र रामचन्द्र संघाई निर्विरोध निर्वाचित एका छन् भने सर्वसाधारण शेयरधनीहरूको तर्फबाट निकुञ्ज अग्रवाल, गणेशमान श्रेष्ठ र आदित्य कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

उक्त सभाले सञ्चालक समितिका निवर्तमान सदस्यद्वय राजेन्द्र प्रसाद अर्याल तथा विनोद कुमार प्याकुरेललाई उनीहरूले बैंकको प्रगतिमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै उनीहरूको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै विदाई समेत गरेको छ ।
साधारण सभा सम्पन्न भएपश्चात् बसेको आईतबार नै बसेको नवनिर्वाचित सञ्चालक समितिको ५३७ औं बैंठकले सञ्चालक तुलसीराम अग्रवाललाई बैंकको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन समेत गरेको छ ।
एनआईसी एसिया बैंकको मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।













