बजेट घोषणापछि शेयरबजारमा उच्च गिरावट, नेप्से ४५ अंकले घट्दा १३ उपसूचक राताम्य

काठमाडौं । सोमबार पुँजीबजारमा उच्च अंकको गिरावट आएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणामा पुँजीबजारको हक हित तथा जोखिम न्युनिकरणको विषय समावेश भई पुँजीबजारमा सुधार आउने लगानीकर्ताहरुको आशा आशामै मेटिएको छ ।
अर्थमन्त्री जनार्दशन शर्माले १७ खर्ब ९३ अर्बको बजेट विनियोजन गर्दा समेत पुँजीबजार केन्द्रित नभएको कारण शेयर बजार प्रभावित बन्न पुगेको हो । यसैकारण आज नेप्सेपरिसूचक ४५ अंकले घट्न पुगेको छ ।
बजेट घोषणा भएको भोलिपल्ट अर्थात् आज शेयरबजार २.०३ प्रतिशतले घटेर २१७८.६९ को विन्दुमा झरेको छ । नेप्से इन्डेक्स उच्च अंकले घटेसँगै नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा समुहको उच्च घट्न पुगेको छ । जीवन बीमा समुहको ३०६ रुपैयाँ र निर्जिबन बीमा समुहको २४८ रुपैयाँ ९५ पैसाले घट्न पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख ८ हजार ६६० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड ७६ लाख ९३ हजार ६९७ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक घटेसँगै शेयरको मात्रा र कारोबार रकम समेत घट्न पुगेको छ । चालु आर्थिक वर्षको सुरुवातमा २१ अर्बसम्मको कारोबार भएको शेयरबजारमा पछिल्लो समय २।३ अर्बसम्म कारोबार सीमित हुन पुगेको छ ।













