मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा रिहा

काठमाडौं । कबड्डी–४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा युवक आज धरौटीमा रिहा भएका छन्।मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएको हो।
आईतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको प्रहरीले जनाएको ।
फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन्। उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्।मंगलबार काठमाडौंको चाबाहिलस्थित केएल टावरमा तामाङ पक्षधरले विरोध प्रदर्शनसमेत गरेका थिए।
भिक्षुसमेत रहेका तामाङलाई निःशर्त रिहा गर्नुपर्ने र मिरूनाले माफी माग्नुपर्ने उनीहरूको माग थियो। कबड्डी–४ का निर्माता पक्ष र आरोपित व्यक्तिका पक्षबीच मंगलबार बिहान छलफलसमेत भएको थियो।













