पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घट्यो, अब मूल्य पनि समायोजन हुने

काठमाडौं । सरकारले पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । अर्थ मन्त्रालयले मंगलबार डिजेल र पेट्रोलमा लिटरमा १०/१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरेको हो ।अर्थ मन्त्रालयले पेट्रोल र डिजेलमा १०/१० रुपैयाँ कर घटाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । पूर्वाधार कर घटेसँगै अब पेट्रोल र डिजेलको मूल्य पनि समायोजन हुनेछ।
सरकारले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क उठाउँदै आएको छ । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले अबको एक साताभित्रै पेट्रोलियम पदार्थको भाउ घट्ने जानकारी गराएका थिए।
नेपाल आयल निगमले जेठ ९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । हाल पेट्रोल प्रतिलिटर १८० तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ । हवाई इन्धन लिटरको १६३ रुपैयाँ कायम गरिएको छ ।













