शेयर बजारलाई थप घट्न नदिन संघर्ष समिति गठन, अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेट्ने

काठमाडौं । ३२०० को बिन्दुमा पुगेको शेयर बजार १० महिनाको अवधीमा ह्वात्तै घटेर २००० को बिन्दुमा झरेपछि शेयर बजारको स्थायीत्व र विकासको लागिको लागि तिलक कोइरालाको नेतृत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।
हिजो काठमाडौंको भृकुटी मण्डपमा आयोजित भेलामार्फत शेयर बजारमा माफियाहरुको अवाञ्छित गतिविधि रोक्ने, सरकारी गलत नीतिहरु सच्याउन माग गर्दै चरणबद्ध दवावपूर्ण आन्दोलनको कार्यक्रमहरु समेत घोषणा गरिएको छ । संघर्ष समितिका संयोजक कोइरालाले आगामी असार १ गतेदेखि आमरण अनसन बस्ने घोषणा गर्दै त्यसअघि सरकारको तर्फबाट पुरा गर्नुपर्ने माग पुरा गराउन औपचारिक रुपमा सरकारलाई दवाव दिन यस्तो कार्यक्रमको घोषणा गरिएको हो ।
सरकारले तीन वर्षदेखि लगानीकर्ताहरुलाई आश्वासन मात्रै देखाएर राखेको र प्रतिबद्धताहरु पुरा नगरेको लगानीकर्ताहरुको गुनासो छ । हिजो भृकुटीमण्डपमा आयोजित दर्जनौं लगानीकर्ताहरुको पुँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरी चरणबद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।
घोषित कार्यक्रम अनुसार आज अर्थात जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
कोइराला नेतृत्वमा गठन गरिएको संघर्ष समितिमा पवित्रा ज्ञवाली, रमेश ढकाल, गोपाल स्वामी, एसपी चौलागाँइँ, नानीबाबु खरेल, पुरुषोत्तम कँडेल, एलपी साह, संजय थापा, देवबहादुर कार्की, लक्ष्मण बञ्जारा, सुमन भण्डारी, विनोद कार्की, पिताम्बर फूलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेती, सुकदेव भण्डारी, कमल पन्थी, सुदर्शन पाठक, पासाड. शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ती सदस्य चयन भएका छन् ।
भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी तोकेको छ । साथै पुँजि बजार विस्तार र विकासको लागि सञ्चालन गरिने आन्दोलनमा हिजै २७ हजार रुपैयाँ सहयोग संकलन गरेको छ ।













