शेयर लगानीकर्ताले बोर्डमा बुझाए ज्ञापनपत्र, पुँजीबजार सुधारका लागि गम्भीरताका साथ लागिरह्ने अध्यक्षको प्रतिवद्धता

२३ जेष्ठ २०७९, सोमबार १३:२९

काठमाडौं । पुँजीबजार सुधारका विभिन्न १९ बुँदे मागसहितको ज्ञापनपत्र आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताले आज धितोपत्र बोर्डलाई बुझाएको छ। पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिका संयोजक तिलक कोइरालाले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा सेयर बजार सुधार र विस्तारका लागि लामो समयदेखि पहल गर्दै आएको कुरा जानकारी गराइएको छ।

‘पटक–पटकको हाम्रो अनुनय विनयलाई कमजोरी ठानी सरकारले पुँजीबजारको संवेदनशिलता र लाखौँ लगानीकर्ताहरुको लगानीलाई बेवास्ता गरेकाले फेरि एकपटक कडा रुपमा उत्रिनुपरेको छ’, ज्ञापनपत्रमा भनिएको छ।

सरकारले साढे तीन वर्षअघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गम्भीर संकट आएको ठहर गर्दै १९ बुँदे मागसहित कोइरालाले असार १ गतेदेखि आफू आमरण अनसनमा बस्ने घोषणा गरिसकेका छन्। सोही अनसनलाई सहयोग पुग्ने उद्देश्यले लगानीकर्ताहरुले आजबाट शान्तिपूर्ण आन्दोलन तथा प्रदर्शन सुरु गरेका हुन्।

ज्ञापनपत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष हमालले आफूहरु पुँजीबजार सुधारका लागि गम्भीरताका साथ लागिरहेको बताए। बजारको सन्तुलन र विकासका लागि सरकारसँग अन्य नियामक निकायहरु राष्ट्र बैंक, बीमा समितिसँग सहकार्य र छलफल गरिरहेको हमालले बताए। ‘केही गर्नैपर्ने बुँदाहरुमा तीव्रगतिमा काम गरिरहेका छौँ’, उनले भने।

बजारको अभिभावकको भूमिका आफूहरुले निर्वाह गरिरहेको हमालले बताए। ‘सबै निकायहरुसँग हाम्रोतर्फ सहजीकरण भइरहेको छ’, उनले भने। ज्ञापनपत्र बुझाउनुअघि शेयर लगानीकर्ताहरुले बिहान ११ बजे धितोपत्र बोर्डको कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*