नेशनल माइक्रोफाइनान्स नवौं वर्षमा प्रवेश, आगामी वर्षमा उत्कृष्ट रुपमा प्रस्तुत हुने प्रतिबद्धता

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । धादिङ जिल्ला निलकण्ठ–३ धादिङबेसीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले वित्तीय क्षेत्रमा आक्रामक सुधार गर्दै आजदेखि नवौं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) राम बहादुर यादवले नेशनल माइक्रोफाइनान्सले गरिब जनतालाई वित्तीय तथा गैर–वित्तीय सेवामा पुहँच पुर्याउन र उनीहरुको सामाजिक–आर्थिक स्तरका साथै जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।
साथै आगामी वर्षहरुमा अझै शाखा विस्तारको संजाललाई फराकिलो बनाउँदै लैजाने र वित्तीय सूचांकमा उत्कृष्ट सुधार गर्दै जाने संस्थाले प्रतिबद्धता जनाएको छ ।
नेशनल माइक्रोफाइनान्सले नेपालको ६४ जिल्लामा शाखा विस्तार गरिसकेको छ । साथै आगामी वर्षहरुमा ७७ वटै जिल्लामा शाखा विस्तार गरी वित्तीय साक्षरता बढाउँदै लैजाने कम्पनीले जनाएको छ । वि.सं.२०७१ सालमा स्थापना भएको संस्थाले छोटो अवधिमा १ लाख ४७ हजार ग्राहकको विश्वास जित्न सफल भएको छ । साथै ८ वर्षभित्रमा लुघवित्तले ११ अर्ब २४ करोड लगानी गरेको छ ।
उक्त कम्पनीको ३ अर्व ८ करोड बचत रहेको छ । ९९ शाखा सञ्जाल रहेको नेशनल माइक्रोफाइनान्सले आफ्ना शेयरधनीहरुलाई पनि राम्रै मुनाफा वितरण गर्दै आइरहेको छ । साथै कम्पनीको मुनाफाका आधारमा आगामी वर्षहरुमा पनि शेयरधनीलाई राम्रै प्रतिफल दिने कम्पनीले जनाएको छ ।
आठौं वर्षसम्ममा लघुवित्तको चुक्तापुँजी बढेर ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ पुगेकोमा लघुवित्तले जगेडा कोषमा ६८ करोड ४९ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । नेशनल माइक्रोफाइनान्सले यसअघि महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको थियो ।













