हकप्रद पाउन ङादी ग्रुप पावरमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा आक्रामक सुधार देखिएको छ । गत साताको अन्तिम दुईदिनयता देखि बढ्न थालेको शेयरबजार आज ५७.६१ अंकले बढ्न पुगेको छ ।
आज नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ ।
शेयरबजारमा आज हरियाली छाएसँगै कारोबार समेत बढ्न पुगेको छ । शेयरबजारमा पछिल्लो समय १ अर्ब कारोबार सीमित हुन पुगेकोमा आज साढे २ अर्बको कारोबार हुन पुगेको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक ङादी ग्रुप पावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन २२ करोड २८ लाख ६९ हजार ८८९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन भएको कारण सो कम्पीको शेयर लगानीकर्ताहरुले धमाधम खरिद गरेका हुन् ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ९७ लाख, एनआइसी एशिया बैंकको ६ करोड ८९ लाख र नेपाल पुनर्बीमा कम्पनीको ६ करोड २६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














