ग्लोबल आईएमई, नेपाल बंगलादेश बैंकसहित आधा दर्जन बैंकको अवस्था कमजोर बन्दै, तरलता समस्यापछि राष्ट्र बैंकको शरणमा

२० असार २०७९, सोमबार ०९:२८

काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक तथा प्राइम बैंक सहित देशका आधा दर्जन बढि बैंकहरुको भित्री अवस्था निकै दयनीय बन्दै गएको पाइएको छ ।

असार मसान्त नजिकै आईपुग्दा समेत तरलता अभाव सम्बन्धी समस्या हल गर्न नसकी सिडी रेसियो ९२ प्रतिशतभन्दा माथि पुगेपछि ग्लोबल आईएमई बैंक, नेपाल बंगलादेश बैंक, प्राइम बैंक, कुमारी बैंक लगायतका बैंकहरु अप्ठेरो अवस्थाबाट गुज्रिरहेका छन् ।

पोखरामा गभर्नर महाप्रसाद अधिकारी र नेपालका सबै बैंकका सिईओहरुको छलफलमा ग्लोबल आइएमई बैंक सहित प्राइम बैंक तथा अन्य केही बैंकहरुले सिडी रेसियो ९० प्रतिशतिमा झार्नै नसकिने भन्दै केन्द्रीय बैंक समक्ष कारवाही नगर्न हारगुहार गरेका छन् । पोखरामा भएको छलफलमा बैंकका सिईओहरुले राष्ट्र बैंक समक्ष आत्मसमर्पण गरेका छन् ।

राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा तरलमा घट्दै गएको तथा बैंकहरुले जथाभावी कर्जा प्रवाह गरेका कारण सिडी रेसियो तोकिएको ९० प्रतिशत भन्दा माथि गएपछि बैंकहरुकै आग्रहमा राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत सहुलियत प्रदान गरी असार चालु आवको असार मसान्तसम्ममा सिडी रेसियो ९० प्रतिशतमा झार्न सकिने सुविधा प्रदान गरेको थियो । बैंकमा रकम नै नहुँदा समेत कृतिम रुपमा नोट (निक्षेप) खडा गरी १०० प्रतिशतभन्दा बढि सिडी रेसियो पुर्याएका बैंकहरुले चालु आवको अन्तिम समय अर्थात असार मसान्तसम्ममा पनि तोकिएको सीमाभित्र रहन नसकेपछि ग्लोबल आईएमई बैंकसहितमा समस्या देखिएको हो ।

पछिल्लो समय बैंकमा नोटको कारोबार कम हुने र चेक वा विद्युतीय कारोबारमार्फत भुक्तानी हुने हुँदा केन्द्रीय बैंकको नियमन झनै चुनौतिपूर्ण बनेको छ । यसै साता पोखरामा सम्पन्न भएको बैंकर–गभर्नरबीचको भेटवार्तामा ग्लोबल आईएमई बैंकसहितका बैंकहरुले आफूहरुको सिडी रेसियो ९० प्रतिशत पुग्न नसक्ने भन्दै राष्ट्र बैंक समक्ष आत्मसमर्पण गरेको विश्वस्त स्रोतले जनाएको छ ।

प्रभावशाली व्यक्ति चन्द्र ढकाल अध्यक्ष रहेको बैंकसहितका बैंकहरुले नै आत्मसमर्पण गरेपछि अब कस्तो कारवाही गर्ने भन्नेमा राष्ट्र बैंकमा छलफल सुरु भएको छ । स्रोतका अनुसार सिडी रेसियो ९० प्रतिशतमा झार्न नसक्ने र जथाभावी कर्जा प्रवाह गर्ने बैंकहरुलाई कडा कारवाही गर्न अर्थमन्त्रालयले कडा निर्देशन यसअघि नै दिइसकेकोछ । तर, राष्ट्र बैंकमा भने सिडी रेसियोका कारण समस्यामा परेका बैंकहरुलाई जोगाउने उपायको खोजी भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*