बैंकहरुको सीडी रेसियोमा सुधार, एकैदिन थपियो ९ अर्ब निक्षेप

काठमाडौं । पछिल्लो केही दिनयता बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ९ अर्बले बढ्न पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार असार १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५० खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन अर्थात् असार १८ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५० खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । एकैदिन ९ अर्ब निक्षेप थपिन पुगेको हो ।
जसमध्ये कमसिर्यल बैंकहरुको मात्रै निक्षेप ८ अर्बले बढेर ४४ खर्ब ४० अर्ब पुगेको छ । निक्षेप बढेसँगै बैंकहरुको सीडी रेसियोमा पनि सुधार देखिएको छ । असार १८ गतेसम्म ८८.८१ प्रतिशत रहेको सीडी रेसियो असार १९ गतेसम्म ८८.६३ प्रतिशतमा झरेको छ ।
यस्तै, यता बैंक तथा वित्तीय संस्थाहरुको ऋण प्रवाह (कर्जा लगानी) २ अर्बले घटेर ४१ खर्ब ७७ अर्ब रुपैयाँमा पुगेको छ । यस अवधिसम्म बैंकहरुको कुल लगानी कर्जा ४७ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।














