प्रधानमन्त्री देउवा र प्रचण्ड बीचको छलफलमा हिमालयन रिइन्स्योरेन्स घोटालाको विषय उठ्यो

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षका बीचमा अर्थमन्त्री जनार्दन शर्माको सम्बन्धमा छलफल भएको छ । हिजो राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको पक्षमा गराइएको घोटालाको विषय उठेको स्रोतले जनाएको छ ।
उच्च स्रोतले जनाए अनुसार अर्थमन्त्री शर्माको विषयमा जेठ १४ गते अर्थमन्त्रालयमा भएको घटना र सो घटनाको सिसिटिभी फुटेज नै डिलिट गरिएको विषय र अख्तियारमा उजुरी दर्ता भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई साढे अर्ब रुपैयाँ व्यापार सुनिश्चित गर्ने गरी बीमा समितिबाट गराइएको घोटाला काण्डमा अर्थमन्त्री शर्माको संलग्नताको विषयमा छलफल भएको जनाइएको छ ।
स्रोतका अनुसार प्रचण्ड र प्रधानमन्त्री देउवाका बीचमा ठोस सहमति भइसकेको छैन । थप छलफल गरेर निर्णय लिने गरी हिजोको बैठक टुंगिएको जनाइएको छ । अख्तियारले समेत चासोपूर्वक हेरिरहेको हिमालयन रिइन्स्योरेन्स घोटाला काण्ड अहिले उत्कर्षमा पुग्नै लागेको छ । माफिया, दलालहरुले घेराबन्दी गराएर अर्थमन्त्रीबाट गत बैशाख २८ र जेठ ४ गते बीमा समितिले गरेको निर्णयले निजि बीमा कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे छ अर्ब रुपैयाँ फाइदा हुने ग्यारेन्टी गरिएको थियो ।
अर्थमन्त्री शर्माकै चेनअफ कमाण्डमा घुसपैठ गरेर माफियाले बीमा समितिबाट गराएको उक्त विवादित निर्णयबारे शीर्ष तहमै छलफल भएपछि अब बहुचर्चित हिमालयन रिइन्स्योरेन्स घोटाला काण्ड छिट्टै सच्चिने निश्चित भएको छ ।
उता, जेठ १४ गते अर्थमन्त्रालयमा अवैधानिक व्यक्ति प्रवेश गरी बजेटमा करको दर हेरफेर गराइएकोबारे पनि छानविन हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सभामुखमार्फत छानविनको रुलिङ गर्ने पार्टीभित्रको छलफलमा बताएका छन् । यसैबीच, हिजो दिनभर सभामुख अग्नि सापकोटा यसै विषयमा छलफलमा व्यस्त भएको संसद सचिवालय स्रोतले जनाएको छ । सम्भवतः आज बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले जेठ १४ गते राति अर्थमन्त्रालयमा भएको भनिएको घटनाको छानविन गर्न रुलिङ गर्नेछन् ।













