नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक नेपालको मर्जरलाई अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुवै बैंकबीच गत जेठ २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकले स्वाप रेसियो १००ः९० को अनुपातमा मर्जरमा जाने सम्बन्धी एमओयुमा हस्ताक्षर सम्पन्न गरेका हुन् । जसमा मेगा बैंकको ९० र इन्भेष्टमेन्ट बैंकको १०० अनुपातमा मर्ज गर्ने सम्झौता भएको हो ।
मर्जरपश्चात बन्ने कम्पनीको नाम ‘ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ नाम हुनेछ । साथै नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहनेगरी दुई बैंकबीच सम्झौता भएको हो ।
हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३१ करोड र मेगा बैंकको १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ को चुक्तापुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ भई सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक बन्नेछ ।














