रसुवागढी हाइड्रोपावरलाई आइपीओ बिक्री गर्नै हम्यहम्य, साउन १० गतेसम्म थपियो आवेदन म्याद

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गरेको कम्पनीको आइपीओमा अब साउन १० गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले असार १३ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई १०० रुपैयाँ अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्काशन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे तथा प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं ५ चिलिमेका बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यस्तै, गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ३ बृद्धम, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चेका स्थानीयले पनि आवेदन दिन सक्नेछन । यस्तै, सामान्य प्रभावित बाँकी जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।













