नेपाल एसबिआई बैंकको ऋणपत्र बिकेन, आवेदन दिने म्याद पुनः थप

२८ असार २०७९, मंगलवार १०:०३

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद पुनः थप गरिएको छ । असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको बैंकको उक्त ऋणपत्रमा यसअघि एक दिन म्याद थप गरि असार २६ गतेसम्म आवेदन अवधि लम्ब्याइएको थियो ।

सो अवधि थप गर्दा पनि एसबिआई बैंकको ऋणपत्रमा पूर्ण आवेदन नपरेको कारण बैंकले पुनः म्याद थप गरेको हो । उक्त ऋणपत्रमा अब साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाइने ‘नेपाल एसबिआई बैंक ऋणपत्र २०८३’, निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सो ऋणपत्रमा कुनै पनि सामूहिक लगानी कोषले आवेदन दिएका छैनन्।

सो ऋणपत्र खरिदका लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*