साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने, अन्तिम निर्णय भोलि हुँदै

काठमाडौं । साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने भएको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले साउन महिनामा पनि ब्याजदर नबढाउने अनौपचारिक सहमति गरेको छ ।
असारकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् । हाल बैंकहरुले निक्षेपमा अधिकतम ११.०३% सम्म ब्याजदर दिएका छन् ।
‘भोलि बस्ने बैंकर्स संघको कार्यसमितिको बैठकले ब्याजदर स्थिर राख्ने र असारकै ब्याजदरलाई निरन्तरता दिने औपचारिक निर्णय गर्न सक्छ’, स्रोतले भन्यो। वाणिज्य बैंकहरुले गत माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन्।
जसअनुसार साउनमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिनेछन्। रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन्।
बैंकिङ प्रणालीमा तरलता थपिँदै गएको र मौद्रिक नीति पनि आउन लागेकोले हाललाई ब्याजदर नबढाउने बैंकहरुबीच अनौपचारिक सहमति बनेको स्रोतले बतायो।
‘मौद्रिक नीतिमा बैंक ब्याजदरसम्बन्धी नीति फेरबदल हुन सक्छ कि भन्ने हो’, स्रोतले भन्यो, ‘त्यसैले साउनमा ब्याजदर नबढाउने र मौद्रिक नीतिमा गरिने व्यवस्थाअनुसार भदौमा ब्याजदर थप–घट गर्ने कि भन्ने निर्णयमा बैंकहरु पुगेका छन्।’













