अधिकांश सार्वजनिक संस्थानहरुले समयमा नै लेखापरिक्षण गर्दैनन्, निरन्तर घाटामा

काठमाडौं । सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु निरन्तर रुपमा घाटामा गएको तथ्यांकले देखाएको छ । महालेखापरीक्षको ५९औं प्रतिवेदनले अहिले सञ्चालनको अवस्थमा रहेका अधिकांश सार्वजनिक संस्थानहरु घाटामा सञ्चालन भएको उल्लेख गरेको छ।
मुलुकमा पछिल्लो समयमा ४४ वटा सार्वजनिक संस्थानहरु सञ्चालनमा रहेका छन् । जसमध्ये ४२ वटा संस्थान मात्रै सञ्चालनको अवस्थामा रहेका छन् । जसमध्ये १५ वटा सार्वजनिक संस्थान ३ वर्षदेखि निरन्तर घाटामा रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
घाटामा सञ्चालनको अवस्थामा रहेकामध्ये आद्योगिक क्षेत्रसँग सम्बन्धित ८ वटा, व्यापारिक क्षेत्रसँग सम्बन्धित १ वटा, सेवासँग सम्बन्धित ३ वटा र सामाजिक क्षेत्रसँग सम्बन्धित ३ वटा रहेका छन् । घाटामा रहेका १५ वटा कम्पनीको आर्थिक वर्ष ०७७र०७८ सम्मको कुल घाटा ३५ अर्ब १६ करोड ८८ लाख रुपैयाँ बराबर रहेको महालेखाले जनाएको छ।
लेखाको ५९औं प्रतिवेदनले अधिकांश सार्वजनिक संस्थानहरुले समयमा नै लेखापरिक्षण गर्ने काम नगरेको उल्लेख गरेको छ । हाल चालु अवस्थामा रहेका ४४ संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष ०७७र०७८ को समयमा नै लेखापरिक्षण नगरेको देखिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनील लिमिटेडले पछिल्लो आव सहित ३ वर्षको, बिसाल बजार कम्पनी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ५ वर्षदेखि लेखा परिक्षण नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेखा परीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको छ । यसरी सार्वजनिक संस्थानको समयमा नै लेखापरीक्षण नगराउने सम्बन्धित पदाधिकारीलाई कारवाही गर्नुपर्ने महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ













