चालु आर्थिक वर्षमा १० खर्ब ३५ अर्ब रुपैयाँ राजस्व सङ्कलन

३२ असार २०७९, शनिबार १३:५५

काठमाण्डौं । नेपाल सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्बभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । महालेखा नियन्त्रणका अनुसार हालसम्म १० खर्ब ३५ अर्ब बराबरको राजश्व सङ्कलन भएको छ ।

उक्त कार्यालयका अनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म नौ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख बराबरको सङ्कलन गरिएको छ । यो कूल लक्ष्यको ८९.६५ प्रतिशत बराबर हो । सरकारले गैरकर राजश्वतर्फ एक खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर सङ्कलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७७ अर्ब १९ करोड सात लाख बराबर सङ्कलन भएको छ । सरकारले वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त हुने लक्ष्य राखेको भएतापनि हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख रकम संकलन गरेको छ ।

महालेखा परिक्षकको कार्यालयका अनुसार सरकारले कूल लक्ष्यको ७८.२२ प्रतिशत बराबरको खर्च गरेको छ । चालु आर्थिक वर्ष १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो । त्यसमध्ये हालसम्म १२ खर्ब ७७ अर्ब २० करोड बराबर खर्च गरेको छ । त्यसमा चालु खर्चको मात्रा बढी छ । चालु आवमा १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको बजेट चालु खर्चमा राखेको थियो । त्यसमध्ये नौ खर्ब ६१ अर्ब ४८ करोड २६ लाख बराबर खर्च भएको छ । यो कूल लक्ष्यको ९०.२६ प्रतिशत हो ।

त्यसैगरी सरकारले विकास निर्माणका लागि विनियोजन गरिएको पूँजीगत खर्च पनि दुई खर्ब माथि पुगेको छ । सरकारले पूँजीगततर्फ तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म दुई खर्ब छ अर्ब ३६ करोड ९७ लाख बराबर खर्च भएको छ । यो कूल विनियोजनको ५४.५८ प्रतिशत बराबर हो ।
सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको मध्ये हालसम्म ५७.७२ प्रतिशत बराबरको बजेट खर्च भएको छ । जसमा एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको थियो । त्यसमध्ये हालसम्म एक खर्ब नौ अर्ब ३४ करोड ७७ लाख बराबरको रकम उपलब्ध गराइसकेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*