चालु आर्थिक वर्षको पहिलो दिन शेयरबजारमा झिनो सुधार, हाइड्रोपावर सूचक सर्वाधिक घट्दा कारोबार एक अर्बमा सीमित

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९।८० को पहिलो दिन अर्थात साताको पहिलो दिन आइतबार शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । गत आर्थिक वर्षमा शेयरबजारमा धेरै उतारचढावहरु आए । गत आवको सुरुवातीमा पुँजीबजारमा राम्रै सुधार देखिएपनि बीचका केही महिनायतादेखि शेयरबजारको अवस्था खस्किँदै गएको हो ।
नयाँ आर्थिक वर्षमा पुँजीबजार सुधारका लागि केही पहल हुने लगानीकर्ताहरु आशावादी छन् । आगामी मौद्रिक नीतिमा शेयरबजारको हितका लागि नीति तर्जुमा हुने लगानीकर्ताहरु पर्खाइमा रहेका छन् ।
आज नेप्से परिसूचक १.९३ अंकले बढेर २०११ को विन्दुमा कायम हुन पुुगेको छ । नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड माथिको कारोबार भएको छ ।
शेयरबजारमा रौनकता घट्दै गइरहेको छ । एक त बीमा तथा बैंकहरुको मर्जरका कारणले पनि कारोबार घट्दै गइरहेको छ भने अर्को ४।१२ को नीति र देशको आर्थिक संकटका कारण पनि शेयरबजार पछिल्लो समय प्रभावित बन्दै गइरहेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ५ समुह बाहेकका सबै समुह आज राताम्य छन् । लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, व्यापार र बैकिङ्ग समूहमा आज हरियाली छाएको छ भने सर्वाधिक हाइड्रोपावर समूहको १.१२ प्रतिशत अर्थात् २६.३६ रुपैयाँले घट्न पुगेको छ ।














