एक खर्ब एक अर्ब निक्षेप संकलन गर्न सफल सेञ्चुरी बैंक, सीडी रेसियो ८८ प्रतिशतमा कायम

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ मा कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ८ प्रतिशतले निक्षेप संकलन गर्न सफल भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७।०७८ मा सेञ्चुरी कमर्सियल बैंकले ९३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । एक वर्षको अन्तरालमा बैंकले ७ अर्ब ९१ करोड रुपैयाँ बढी निक्षेप बृद्धि गरेको हो ।
त्यस्तै गत आर्थिक वर्ष अर्थात २०७९ को असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गर्न सफल भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष अर्थात २०७८ को असार मसान्तसम्मको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले नै बढी हो । बैंकले बैकिङ्ग क्षेत्रमा तरलता संकट देखिएको वर्षमा पनि उत्कृष्ट निक्षेप संकलन गरी कर्जार विस्तार गर्न सफल भएको छ ।
२०७९ को असार मसान्तसम्म सेञ्चुरी बैंकको कर्जा विस्तार करिब १७ प्रतिशतले बढेको देखिएको हो । साथै सो अवधिसम्म बैंकको सीडी रेसियो ८९.९८ प्रतिशत कायम भएको छ । राष्ट्र बैंकले २०७९ को असार मसान्तसम्म कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो) ९० प्रतिशतभन्दा तल झार्न निर्देशन दिएको थियो । सोही निर्देशनलाई पालना गर्दै सेञ्चुरी बैंकले सो अवधिभित्र सीडी रेसियो ८७.९८ प्रतिशतमा कायम गरेको हो ।
त्यस्तै, २०७९ को असार मसान्तसम्म तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ भने बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी रहेको छ ।












