सरकारलाई सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीको लिस्टमा ५ वाणिज्य बैंक, कसले कति तिरे ?

२ श्रावण २०७९, सोमबार १२:४९

काठमाडौं । आर्थिक वर्ष २०७८।०७९ मा सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीहरको लिस्टमा ५ वटा वाणिज्य बैंकहरु पनि परेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार २०७९ असार ३२ गतेसम्ममा धेरै कर तिर्ने कम्पनीहरुको लिस्टमा एनआइसी एशिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय बाणिज्य बैंक पनि परेका छन् ।

वाणिज्य बैंकहरुमध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै एनआइसी एशिया बैंक लिमिटेडले कर तिरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार एनआइसी एशिया बैंकले असार मसान्तसम्म दाखिला भएको कर विवरणअनुसार ३ अर्ब ४१ करोड रुपैयाँ कर दाखिला गरेको छ ।

त्यस्तै, वाणिज्य बैंकहरुमध्ये दोस्रोमा बढी कर तिर्नेमा नबिल बैंक रहेको छ । आर्थिक वर्ष २०७८।०७९ को असार मसान्तसम्ममा नबिल बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ कर दाखिला गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

साथै तेस्रो बढी कर तिर्ने वाणिज्य बैंकमा ग्लोबल आइएमइ बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षमा ३ अर्ब १७ करोड कर दाखिला गरेको छ । त्यस्तै, चौथोमा सिद्धार्थ बैंक रहेको छ । बैंकले पनि गत आर्थिक वर्षमा २ अर्ब ७७ करोड रुपैयाँ सरकारलाई कर तिरेर सबैभन्दा बढी कर तिर्ने टप १० कम्पनीको लिस्टमा समावेश गर्न सफल भएको हो ।

यसका साथै राष्ट्रिय बाणिज्य बैंकले पनि गत आर्थिक वर्षमा २ अर्ब ६५ करोड रुपैयाँ सरकारलाई कर दाखिला गर्दै सबैभन्दा धेरै कर तिर्ने टप १० कम्पनीको लिस्टमा पर्न सफल भएको हो ।

यसबाहेक आर्थिक वर्ष २०७८।०७९ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीमा भने सूर्या नेपाल प्रा.लि. रहेको छ ।

अर्थमन्त्रालय स्रोतका अुनसार गत आर्थिक वर्षमा सूर्या नेपालले मात्रै १० अर्ब ७२ करोड रुपैयाँ कर दाखिला गरी सबैभन्दा बढी कर तिने नम्बर वान कम्पनी हुन सफल भएको छ ।

त्यस्तै दोस्रोमा नेपाल दुरसंचारले ९ अर्ब ८२ करोड, तेस्रोमा आजियाटा (एनसेल)ले ७ अर्ब ७९ करोड, चौथोमा गोर्खा ब्रअरी प्रा.लि.ले ५ अर्ब ६९ करोड, पाँचौमा विद्युत प्राधिकरणले ३ अर्ब ९५ करोड रुपैयाँ सरकारलाई कर तिरेको छ ।

त्यसलगत्तै ६ देखि १० नम्बरभित्र ५ वटा वाणिज्य बैंकहरु टप १० कम्पनीभित्र परेका हुन् । यी बैंकहरुमध्ये पनि सर्वाधिक एनआइसी एशिया बैंकले सबैभन्दा बढी कर दाखिला गरेको अर्थ मन्त्रालय स्रोतले देखाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*