असार मसान्तमा प्रवाह भएको २२ अर्ब कर्जा झूठो, रिकल गरेर खराव कर्जा जोगाउँदै बैंक

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रमा राष्ट्र बैंकको प्रभावकारी नियमन हुन नसक्दा असार अन्तिम साता मात्रै बैंकहरुले २२ अर्ब रुपैयाँ रिकल गरेर बैंकको अवस्था चुस्तदुरुस्त देखाउने प्रयत्न गरेका छन् ।
असारको पहिलो सातादेखि नै बैंकहरुमा कडा इन्स्पेक्सन गरेको राष्ट्र बैंकले दर्जनबढि बैंकमा खराव कर्जालाई रिकल गरेर समायोजन गरेको फेला पारेपछि प्रोभिजनिङ गर्न लगाएको थियो । बैंकहरुले राष्ट्र बैंकको नियमनको धज्जी उडाउँदै यस वर्ष मुनाफा देखाउन नियमित हुन नसकेका २२ अर्ब बराबरको ऋणलाई पुनः ऋण लिएको देखाएर चोख्याउने प्रयत्न गरेका छन् ।
यसरी २२ अर्ब रुपैयाँ ऋण चोख्याउनेहरु को को हुन् भन्ने खुल्न सकेको छैन भने बैंकहरु समेत कुन कुन हुन् भन्ने विषयमा थप स्पष्ट हुन बाँकी छ । केन्द्रीय बैंकले प्राप्त गरेको तथ्याङ्क अनुसार असारको अन्तिम एक सातामा मात्रै २२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । लामो समयदेखि बैंकिङ प्रणालीले ऋण रोकेको र असार १५ पछि क्लोजिङ हुने भएकोले ऋण प्रवाह पूर्ण रुपमा बन्द गरेका थिए । तथ्याङ्कमा असारको अन्तिम साता २२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको देखिएपछि उक्त ऋण कृत्तिम भएको पुष्टि भएको हो ।
बैंकहरुले खराव कर्जाको अनुपात घटाउन तथा प्रोभिजन गर्नुपर्ने रकम जोगाउन यस्तो कार्य गरेका हुन् । २२ अर्व प्रोभिजन गर्नुपरेको अवस्थामा नेपालमा सञ्चालित बैंकहरुको मुनाफा दिने क्षमता आधा घट्नेछ । कृत्तिम ऋण देखाएर प्रोभिजन जोगाउने र मालिकहरुलाई मुनाफा र कर्मचारीलाई बोनस खुवाउने बैंकका सिईओहरुको खराव प्रवृत्तिबारे केन्द्रीय बैंकले तत्काल सुक्ष्म अध्ययन गर्नुपर्ने देखिएको छ ।













