असार अन्तिममा सिडी रेसियोमा चमत्कारिक सुधार, बैंकहरु ऋण दिन सक्ने अवस्थामा

काठमाडौं । वाणिज्य बैंकको व्यवसाय विस्तार घटेको छ । असारमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा व्यवसाय विस्तार पनि घटेको हो । वाणिज्य बैंकको कर्जा विस्तार १८ अर्ब रुपैयाँले घट्दा निक्षेप भने १४१ अर्ब रुपैयाँ थपिएको नेपाल बैंकर्स संघले जनाएको छ ।
असार १ देखि ३२ गतेसम्म १ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थपिएर ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । जेठसम्म ४१ खर्ब ९३ खर्ब रुपैयाँ कर्जा विस्तार गरेको बैंकहरुकोे असारमा १८ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको छ । असारमा वाणिज्य बैंकहरुमा निक्षेप उच्च दरले बढ्न गई कर्जा विस्तार घट्दा कर्जा–निक्षेप अनुपात पनि निरन्तर घट्दै गएको छ ।
जेठमा ९० प्रतिशतमाथि रहेको सीडी रेसियो असारमा आएर ८६.२२ तल आएको छ । असार १९ गते बैंकसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो ८८।६३ प्रतिशतमा ल्याएका थियो । असार ३२ गतेसम्म कर्जा घटेर निक्षेप बढ्दा सीडी ८६.२२ मा झरेको छ ।
जेठसम्म निरन्तर बढिरहेको सीडी घटाउन राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बोलाएर असार मसान्तसम्म सीडी रेसियो ९० तल नल्याए कारबाही गर्ने चेतावनी दिएसँगै बैंकहरू कर्जा विस्तार ठप्प पारेर कर्जा उठाउनेतिर लागेका थिए ।
बैंकहरुले कर्जा ठप्प पारी ऋण उठाउन थालेसँगै सीडी रेसियो पनि कम हुन थालेको थियोे । यद्यपि असारमसान्तमा वाणिज्य बैंकको औसत सीडी ८६ मा झरेको हो ।
असारमसान्तमा प्रभु बैंकको सीडी सबैभन्दा न्यून ७८.३५ रहेको छ । सोही अवधिमा नबिल बैंकको सीडी सबैभन्दा धेरै ८९.७९ रहेको छ ।













