बोर्डका अध्यक्ष हमालसहितको टोलीद्धारा भारतीय पुँजीबजारको अध्ययन भ्रमण, नेपालको पुँजीबजारको विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालसहितको टोलीले भारतीय पुँजीबजारको अध्ययन भ्रमण गरेका छन् ।
भारतीय पुँजीबजारको नियामक निकाय सेक्युरिटि एक्सचेञ्ज बोर्ड अफ इण्डिया (सेबी) को निमन्त्रणा स्वीकार्दै सेबोनका अध्यक्ष हमालको नेतृत्वमा कायम मुकायम कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उप कार्यकारी निर्देशक कृष्णराज पोखरेल र कामु उप कार्यकारी निर्देशक नारायण प्रसाद शर्मा सहितको टोलीले गत असार २७ गतेदेखि असार ३१ गतेसम्म भारतीय पुँजीबजारको अध्ययन भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा सेबोनका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेञ्ज (बिएसई), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटि मार्केटस (एनआइएसएम) र मल्टी कमोडिटि एक्सचेञ्ज अफ इण्डिया (एमसिएक्स) का उच्च पदाधिकारीसँग भेटवार्ता गरेका थिए ।
सेबीका अध्यक्ष माधवी पुरी बुच तथा बोर्डका अध्यक्ष हमालबीच शिष्टाचार भेटधाट तथा द्धिपक्षीय सहयोग आदानप्रदान सम्बन्धमा छलफल भएको थियो । सो क्रममा दुई अध्यक्षबीच आगामी दिनमा यी निकायहरुबीच लङ टर्म को–ओपरेशन स्थापित गरी समन्वय र सहकार्य गरी अगाडी बढ्न प्रतिबद्धता ब्यक्त गरे ।
साथै नेपालको पुँजी बजार विकासको लागि भारतीय पुँजी बजारको वेष्ट प्राक्टिस तथा अभ्यासहरुको मुख्यतः संस्थागत क्षमता अभिबृद्धि, बजार नियमन तथा सुपरिवेक्षणमा स्वचालित अनलाई सुपरिवेक्षण प्रणाली, नियामकीय सूचना प्रविधि व्यवस्था र वित्तीय साक्षरता अभिबृद्धिका लागि गरिनुपर्ने कार्य सम्बन्धमा आपसी सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो ।
बोर्डका अध्यक्ष हमालसहितको टालीले बिएसइका प्रमुख कार्यकारी अधिकृत आशिष कुमार चौहानको उच्च पदाधिकारीहरुसँग समेत भेटघाट तथा छलफल गरेको थियो । सो क्रममा उक्त एक्सचेञ्जले प्रयोग गरिरहेको कारोबार प्रणाली, सुपरिवेक्षणका लागि गरेको व्यवस्था र साइबर जोखिम कम गर्नका लागि गरेको व्यवस्था सम्बन्धमा जानकारी प्राप्त हुनुका साथै प्रणालीको अवलोकन गरिएको थियो ।
सो क्रमममा बिएसइका प्रमुखले नेपालको धितोपत्र बजार विकासका लागि सहयोग गर्न तत्पर रहेको भनाई राखेका थिए । त्यस्तै, वित्तीय साक्षरता अभिबृद्धिका लागि सेबीको अग्रसरतामा स्थापित एनआइएसएमको भ्रमण गरिएकोमा उक्त संस्थाको स्थापना, संरचना, संचालनमा रहेको स्कुलसम्बन्धी जानकारी लिनुका साथै आगामी दिनमा प्रभावकारीरुपमा वित्तीय साक्षरता अभिबृद्धिका लागि सेबोनद्धारा नेपालमा स्थापना गरिने पुँजीबजार प्रशिक्षण इन्स्टिच्युटको संचालनमा ल्याउन समन्वय तथा सहकार्य गर्ने छलफल भएको थियो ।
उक्त भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिबृद्धि गर्नका लागि खेल्नुपर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिवेक्षण के कसरी गर्नुपर्दछ भन्ने विषयमा जानकारी प्राप्त गरेको छ । त्यसैगरी अध्ययन भ्रमणको क्रममा मुख्यतः रेगुलाटरी फ्रेमवर्क, डिजिटलाइजेशन अफ फ्रेमवर्क सिस्टम, एआई बेस्ड सर्भेलियन्स सिस्टम, इन्भेस्टर ग्राइभेन्सस मेकानिजम, ट्रेडिङ सिस्टम एवं फाइनान्सियल लिटेरेसीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल समेत गरिएको थियो ।
समग्रमा सो भ्रमणबाट दुई देशका नियामक निकायबीच दीर्घकालीन समन्वय तथा सम्बन्ध स्थापित भई नेपालको धितोपत्र बजारमा आधुनिक सूचना प्रविधिको विकास तथा विस्तार भई बजारको उचित विकास र सन्तुलनमा सघाउ पुग्ने अपेक्षा बोर्डले गरेको छ ।













