राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, ४–१२ को सीमा नहटाउने निर्णय

काठमाडौं । आज विहान बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ । राष्ट्र बैंकका एक सञ्चालकले दिएको जानकारी अनुसार मौद्रिक नीति आज विहान बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो ।
गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले मौद्रिक नीति पारित गरेको हो । मौद्रिक नीति पारित भएपछि अब राष्ट्र बैंकले हेरफेर गर्न पाउने छैनन् । राष्ट्र बैंकले मौद्रिक नीति पत्रकारहरुलाई जुममार्फत सहभागी हुन पाउनेछन् ।
सञ्चालक समितिबाट मौद्रिक नीति पारित भएपछि केन्द्रीय बैंकले आज सूचना जारी गरेर अपरान्ह चार बजे मौद्रिक नीति जारी हुने सूचना दिएको छ । देशको अर्थतन्त्र बिग्रदै जाँदा नेपाल राष्ट्र बैंकले आज जारी गर्न लागेको मौद्रिक नीतिप्रति आम जनताको चासो छ ।
आजको मौद्रिक नीतिमार्फत बैंकहरुलाई कडा नियमनमा ल्याउन लागिएको छ भने कर्जा समेत प्रवाहमा कडाई गरिनेछ । कर्जा प्रवाहमा एकै व्यक्तिलाई अर्बौ रुपैयाँको कर्जा प्रवाहमाथि अंकुश लगाउने तयारी गरिएको छ ।
यसैबीच, ४–१२ को व्यवस्था यस वर्ष पनि नहट्ने भएको छ । राष्ट्र स्रोतका अनुसार मौद्रिक नीतिमा ४–१२ को नीति हटाउने सम्बन्धमा कुनै निर्णय नगरेकोले यथावत नै रहने भएको छ । राष्ट्र बैंकलाई संसदले एकै व्यक्तिमा धेरै कर्जा जान नदिने सम्बन्धमा सुझाव दिएकोले पनि राष्ट्र बैंकले ४–१२ को निर्णय यथावत नै राख्न बाध्य भएको जनाइएको छ ।













