सिंगो मौद्रिक नीतिमा शेयर लगानीकर्ताको पक्षमा एउटा बुँदा, कस-कसले पाँउछन् सुविधा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले ल्याएको बजेट कार्यान्वयनमा सघाउन राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याएको हो। शेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिंदा बैंकहरुले कायम गर्नुपर्ने जोखिम भार १०० प्रतिशतमा झारेको छ। यसले सिंगो मौद्रिक नितिमा शेयर लगानीकर्ताको पक्षमा एउटा बुँदा सम्बोधन गरेको शेयर बिश्लेषकहरु बताँउछन् । शुक्रबार सार्वजनिक चालु वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उक्त सीमा शतप्रतिशतमा झारेको हो ।
यसअघि जुनसुकै परिमाणको सेयर धितो कर्जा लिंदा पनि १५० प्रतिशतसम्म बैंकहरुले जोखिम भार छुट्याउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको थियो।यसले सेयर बजारलाई केही राहत दिने आकलन गरिएको छ। साना लगानीकर्ताको हितमा यो व्यवस्था गरिएको शेयर बिश्लेषकहरु बताँउछन् ।
मौद्रिक नीतिमार्फत साना लगानीकर्तालाई राहत दिएको शेयर लगानीकर्ता माधव पाण्डे बताँउछन् । ‘२५ लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशतको जोखिम भार हुनु सानालाई राहत भएको देखिन्छ’, उनले भने, ‘ठूलालाई भने ट्रयापमा पारेको छ। यो नीतिले ठूला घरानाका एउटै व्यक्तिलाई ठूलो सेयर ऋण दिने कार्य निरुत्साहित हुनेछ।’ सानालाई सुविधा दिए जस्तै गरेको उनको भनाई छ ।
मौद्रिक नीतिले २५ लाख रुपैयाँ सम्मको कर्जामा जोखिमभार सतप्रतिशत व्यवस्था गरेको छ भने २५ बढीको कर्जाको जोखिमभार १५० प्रतिशतको व्यवस्थाले साना लगानीकर्तालाई सहज हुने भएको हो ।
राष्ट्र बैंकले २५ लाख बढीको कर्जा कडाई गर्दै जोखिमभार १५० प्रतिशत व्यवस्था छ । यसअघि नै सेयर धितोमा हुने कर्जा प्रवाहको जोखिमभार बढाएको थियो । सोही व्यवस्थालाई चालू आवको मौद्रिक नीतिमा निरन्तरता दिएको छ ।
यस अघिको व्यवस्थालाई निरन्तरता दिँदा साना लगानीकर्तालाई सहज हुने भएको हो । साना लगानीकर्ताले सेयर कर्जाको जोखिमभार नबढाउदा साना लगानीकर्तालाई प्रोत्साहन मिल्ने जानकार बताउँछन् ।
राष्ट्र बैंकले सेयर कर्जा प्रभाव नियन्त्रण गर्नको लागि जोखिमभार बढाएको थियो । सेयर धितो कर्जाको जोखिमभार बढाएसँगै ५० करोड माथिको सेयर कर्जा घट्न थालेको हो ।
गत वर्षको जेठमा बैंक तथा वित्तीय संस्थाबाट २५ लाख सम्मको धितो कर्जा करिब ८ अर्ब ६१ करोड रुपैयाँ प्रवाह भएको छ । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जामा १५ अर्ब २७ लाख कर्जा प्रवाह भएको छ भने १ करोड बढीको कर्जामा ५२ अर्ब कर्जा प्रवाह भएको छ ।
अधिल्लो वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट २५ लाख सम्मको धितो कर्जा साढे ६ अर्ब रुपैर्याँ प्रवाह भएको थियो । त्यस्तै २५ लाखदेखि ५० लाखसम्मको सेयर धितो कर्जामा १२ अर्ब ४१ लाख कर्जा र १ करोड बढीको कर्जामा ६४ अर्ब कर्जा प्रवाह भएको थियो ।
जोखिमभार बढेसँगै ठूलो कर्जा घट्दै गएको छ सानो कर्जा बढिरहेको नेपाल राष्ट्र बैंकको रिपोर्टले देखाउछ । साथै नेपाल राष्ट्र बैंकको इजाजतप्राप्त संस्थामार्फत एक संस्थाबाट ४ करोड र समग्र संस्थाबाट गरी १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिने व्यवस्था थियो ।
यसअघि गत आवको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो राखेर एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड मात्रै ऋण लिन मिल्ने व्यवस्था रहेको थियो। उक्त व्यवस्था हटाउँदै प्रतिव्यक्तिले १२ करोड ऋण लिने पाउने सीमा राखिएको हो। अब एक बैंकबाट एक व्यक्तिले १२ करोड रुपैयाँसम्म लिन सक्नेछन्। केन्द्रीय बैंकले मर्जर तथा एक्विजिसन प्रयोजनार्थ कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने प्रणालीलाई पनि खारेज गरिदिएको छ।
मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडि रेसियो) गणनामा लचकता अपनाएको छ। केन्द्रीय बैंकले सिडि रेसियो गणना गर्दा २०८० असार सम्म जारी ऋणपत्रलाई निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षमा विस्तृत मुद्रा प्रदाय को वृद्धिदर १२ प्रतिशत प्रक्षेपण गरेको छ।राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने नीति अख्तियार गरेको छ। यसअघि कोरोनाकालमा दिएको पुनर्कर्जाको सुविधालाई हटाउँदै केन्द्रीय बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रणको नीति लिएको हो।
सरकारले चालु आवको बजेटमा ८ प्रतिशत बराबरको आर्थिक वृद्धि हासिल गर्ने र मूल्यवृद्धिको सीमा ७ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ।












