साउनको पहिलो सातामै बैंकिङ प्रणालीबाट ६४ अर्ब चुहियो, तरलता समस्या फेरि बल्झियो

९ श्रावण २०७९, सोमबार १८:१५

काठमाडौं । असारको अन्तिम साता एकाएक भरिएका बैंकका ढुकुटीहरु साउनको पहिलो सातामै रित्तिएपछि नेपाल राष्ट्र बैंकको नियमनमाथि धज्जी उडेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार साउनको पहिलो सातामा बैंकिङ प्रणालीबाट ६४ अर्ब रुपैयाँ गायब भएको छ ।

आर्थिक वर्षको अन्तिम साता २२ अर्ब रुपैयाँ ऋण दिएर केन्द्रीय बैंकको नियमनमाथि चुनौति दिएका बैंकहरुले साउनको पहिलो सातामै ६४ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट हराएपछि बैंकहरुले कृत्तिम निक्षेप देखाएर नियामक निकायलाई दिउसै रात पारेको विश्वास गरिएको छ ।

बैंकर्स संघको तथ्यांक अनुसार साउन १ देखि ६ गतेसम्म बैंकहरूबाट ६४ अर्ब निक्षेप घटेको छ । तथ्यांक अनुसार असार ३२ गतेसम्म नेपालका बाणिज्य बैंकहरुमा ४५ खर्ब ४१ अर्ब निक्षेप थियो । साउन ६ गतेसम्म आइपुग्दा ४४ खर्ब ७८ अर्बमा सीमित भएको तथ्याङ्कमा देखिएको छ ।

साउनको पहिलो साता भएकोले सबै बैंकहरुबाट ऋण प्रवाह रोकिएको छ । साउनको पहिलो सातासम्म क्लोजिङ्कै समय दिइएको बैंकिङ प्रणालीबाट एकाएक आधा खर्बभन्दा बढि रकम गायब भएसँगै तरलता समस्या झनै विकराल बन्ने देखिएको छ ।

यो बीचमा विदेशी मुद्राको निक्षेप पनि २ अर्बले घटेको छ । यो बीचमा ऋण प्रवाह पनि ओरालो लागेको छ । बैंकर्स संघका अनुसार साउन पहिलो साता १० अर्बले ऋण प्रवाह घटेको छ । असार ३२ गतेसम्म ४१ खर्ब ७५ अर्ब रहेको ऋण घटेर ४१ अर्ब ६५ अर्बमा सीमित भएको छ । यो बीचमा विदेशी मुद्रामा हुने ऋण प्रवाह पनि २ अर्ब रुपैयाँले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*