ग्लोबल आइएमई बैंक चोरिएको आठ लाख रुपैयाँ फिर्ता गर्ने सहमत

काठमाडौं । ग्लोबल आइएमई बैंकले सेवाग्राहीको खाताबाट चोरिएको आठ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति जनाएको छ । सुनसरी, कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवारले खातामा आठ लाख रुपैयाँ जम्मा गरी विदेश गएको बेलामा नेपालमा उनको खाताबाट आठ लाख रुपैयाँ चोरी भएको थियो ।
आठ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकको मोबाईल एपबाट चोरिएपछि निवेदन दिएका उनलाई प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएपछि आज बैंकले आठ लाख रुपैयाँ दिने प्रहरी समक्ष सहमति भएको हो ।
ग्राहकको पुरानो सिमकार्ड दुरुपयोग गरेर ग्लोबल आइएमई खातामा रहेको आठ लाख रुपैयाँ चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि बैंैकले उक्त रकम दिने आज सहमति जनाएको हो ।
सुनसरीको कोशी गाउँपालिका घर भएका महेशप्रसाद भिन्डवार मलेसियामा भएको बेलामा नेपालमा मोबाईल बैंकिङ् एप एक्टिभ गरी एकाएक ८ लाख रुपैयाँ चोरी गरिएको रहस्य खुलेको छ ।
भिन्डवार वैदेशिक रोजगारको शिलशिलामा मेलिसियामा काम गर्ने श्रमिक हुन् । उनी केही दिन अघि मात्रै नेपाल आएका हुन् । नेपाल आएर आफ्नो खातामा रहेको रकम निकाल्न जाँदा जम्मा एक हजार ६०० रुपैयाँ मात्रै देखेपछि उनी अत्तालिँदै प्रहरीमा निवेदन दिएका थिए ।
सन् २०१६ मा नेपाल आएका उनी त्यसपछि मलेसियाबाट नफर्केकोको उनको ट्राभल हिस्ट्रीबाट प्रमाणित हुन्छ । मानिस नेपालमै नभएको अवस्थामा बैंकबाट मोबाईल एप कसरी एक्टिभ भयो भन्ने विषयमा बैंकका कर्मचारीमाथि छानविन नगरी बैंकले पीडितलाई रकम भुक्तानी दिन लागेको हो ।













