यसकारण बढ्यो स्ट्यान्डर्ड चार्टर्ड बैंकको खुद नाफा, वितरण योग्य मुनाफा कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ ।
बैंकले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्ममा २ अर्ब २६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.२७ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा दुवै बढ्न पुगेको छ । यसकारण पनि बैंकले नाफामा उल्लेख्य सुधार गरेको हो । त्यस्तै आम्दानी र संचालन नाफा बढेसंगै इम्पेरमेन्ट चार्ज घटेपछि बैंकको नाफा उल्लेख्य बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.८६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६१.५४ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७ रुपैयाँ ७५ पैसा बढेर २४ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ।
चौथो त्रैमाससम्म बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोषको आकार १३.४० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ६.९२ प्रतिशत र कर्जा २६.८६ प्रतिशत बढेको छ।













