दोहोरो अंकले बढ्यो नेप्से, १२ सूचक चम्किदा ३ अर्बमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन एकाएक भारी गिरावट आएको शेयरबजारमा आज फेरी सुधार देखिन पुगेको छ ।
नेप्से परिसूचक आज २३.८३ अंकले बढेर २१११ विन्दुमा पुगेको छ । बैंकहरुले कृत्तिम निक्षेप देखाएर सीडि रेसियो कायम गरेको कारण साउन महिनामा ६३ अर्ब रुपैयाँ गायब भएसँगै नेप्सेमा भारि गिरावट आएको थियो आज पुनः नेप्से इन्डेक्समा सुधार देखिन पुगेको हो ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १६ करोड माथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज व्यापार समूह बाहेकका सबै सूचकमा हरियाली छाएको छ । आज ब्यापार समूह शुन्य दशमलव ५८ प्रतिशतले घट्दा सर्वाधिक लघुवित्त सूचक २.२७ प्रतिशत अर्थात १०७ रुपैयाँ ७३ पैसाले बढ्न पुगेको छ । त्यस्तै फाइनान्स समूहको ४.१३ प्रतिशत र हाइड्रोपावर समूहको २.९६ प्रतिशतले बढेको छ ।













