मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन ९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको कम्पनीको उक्त आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्काशन गर्न गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि आरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
पछिल्लो समय केही घटेपनि आईपिओमा आवेदन दिनेहरुको संख्या उल्लेख्य नै रहेकोले मागभन्दा ज्यादै धेरै आवेदन पर्ने भएकोले बाँडफाँडको विधि गोलाप्रथा नै हुने हुँदा १० कित्ता भन्दा बढिका लागि आवेदन दिनुपर्ने छैन ।
तर, अधकल्चो रहेको केही कित्ता शेयर बाँडफाँड १० कित्ता भन्दा बढि आवेदन गर्नेबाट छनौट गर्न सक्ने भएकोले २० कित्ताको लागि आवेदन गर्दा अधकल्चो शेयर १–१ कित्ताका लागि हुने गोलाप्रथा भाग लिन पाइने हुँदा २० कित्तामा आवेदन दिँदा पनि फरक पर्दैन ।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप अर्थात् वेबसाइटमार्फतबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।













