एभरेष्ट बैंकको खुद नाफामा उल्लेख्य सुधार, इपिएस ७ रुपैयाँ बढ्दा लाभांश दिने क्षमता कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ ।
चालु आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । जुन यो नाफा अघिल्लो आवको तुलनामा ४३.७७ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्ममा बैंकले १ अर्ब ७७ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढ्न पुगेको छ । यसकारण पनि बैंकले नाफामा उत्कृष्ट सुधार गरेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.१५ प्रतिशत र खुद फि तथा कमिसन आम्दानी ३४.३३ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३२.८८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४२.८२ प्रतिशत बढेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ रहेको छ । यसकारण आर्थिक वर्ष २०७८।०७९ मा बैंकले ४१.१४ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा रहेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७ रुपैयाँ बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १९ रुपैयाँ ८२ पैसा रहेको बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २६ रुपैयाँ ८९ पैसा पुगेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढ्नाले बैंकको यस्तो आम्दानी बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ५.९७ प्रतिशत बढेर ९ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १२.५७ प्रतिशत बढेर ९ अर्ब ९ करोड २९ लाख रुपैयाँ संचित रहेको छ । त्यसैगरी, बैंकको निक्षेप १२.५७ प्रतिशत र कर्जा १३.९३ प्रतिशत बढेको छ ।













