संसदीय छानविन समितिद्धारा जर्नादन शर्मा निर्दोष ठहर

काठमाडौं । संसदीय छानविन समितिले जर्नादन शर्मालाई निर्दोष ठहर गरेको छ । हिजो साँझसम्म बसेको संसदीय छानविन समितिले आज नै प्रतिवेदन सभामुखसम्क्ष पेश गर्ने भएको छ।सोही निर्णय अनुसार जेष्ठ सदस्यको हैसियतमा समितिको संयोजकत्व गरेका लक्ष्मणलाल कर्णले दिउँसो ३ बजे सभामुखलाई प्रतिवेदन बुझाउने तय भएको हो ।
संसद सचिवालयका अनुसार संसद भवन नयाँ वानेश्वरमै सभामुखलाई प्रतिवेदन बुझाइनेछ ।प्रतिनिधिसभाको जारी बैठकलाई स्थगित गरेर आजै अर्को बैठक राख्ने, पहिलो बैठक स्थगित गरेर छानबिन समितिको प्रतिवेदन सभामुखले बझेर दोस्रो बैठकमा पेश गर्ने तयारी छ ।
करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिको प्रवेश भएको भनी प्रश्न उठेपछि २२ असारमा ११ सदस्यीय समिति गठन भएको थियो ।समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो । समय अपुग भएको भनी साउन ५ गते सात दिन समय थप भएको थियो । प्राप्त समयमै छानबिन समितिले प्रतिवेदन तयार गरेको छ । तयार प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ समितिले निष्कर्ष निकालेको छ ।१७ दिन लगाएर समितिले गरेको अध्ययनमा शर्मामाथि लागेको आरोप पुष्टि प्रमाण भेटाउन सकेको छैन । समितिले शर्मालाई सफाइ दिने गरेर प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको स्रोतको भनाइ छ ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा सीसीटीभीको हार्डडिक्स पठाउँदा जेठ १४ र १५ गतेको ५१ वटा सिंगल फ्रेमका क्लिपहरू प्राप्त हुन आए । उक्त क्लिपहरू चलायमान नरहेकाले छानबिनको कार्यमा त्यति सहयोगपूर्ण रहेनन् ।’ प्रतिवेदनमा थप भनिएको छ, ‘ती क्लिपहरूमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’
संसदीय छानबिन विशेष समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीपकुमार ज्ञवाली, मानबहादुर विश्वकर्मा, भानुभक्त ढकाल, बिमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव थिए ।
प्रतिवेदनमा एमालेका सदस्यहरुले भने फरक मत राखेका छन् । समितिले एमालेको फरक मत सहितको प्रतिवेदन सभामुखलाई बुझाउने छ ।संसदीय समितिले जनार्दन शर्मा सहित बजेटमा निर्माणमा संलग्न भएका अर्थसचिव,राजस्व सचिव सहित उच्च अधिकारीसँग बयान लिएको थियो । जसमा सबैले अनाधिकृत व्यक्ति संलग्न भएको कुरा स्वीकार गरेका थिएनन् ।
प्रमुख प्रतिपक्ष एमालेका ४ सांसदले भने समितिको यो प्रतिवेदनमा राखिएको निष्कर्षको विरोध गरेका छन् । एमाले सांसदले आरोपितको मोबाइलको कल रेकर्ड र लोकेसन ट्र्याकिङ गर्न माग गरे पनि सत्तापक्ष सांसद फस्ने भन्दै यसतर्फ जानै चाहेनन् ।
यस्तै, समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेज समेत माग गरेको थियो । यस्तै, समितिले गृहमन्त्रालयलाई सिंहदरबार छिर्ने दुई गेटको सीसीटीभी फुटेज समेत मागेको थियो । १७ दिनको अध्ययनको क्रममा शर्मा विरुद्ध प्रमाण नभेटिएपछि उनले सफाइ पाएको समितिका एक सदस्यले बताए ।













